काठमाडौं, ३ माघ ।
जनता समाजवादी पार्टी (जसपा) नेपालका महासचिव रामकुमार शर्माले समाजवादी मोर्चा कमजोर बन्नुमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को मुख्य भूमिका रहेको आरोप लगाएका छन्।
आज (बिहीबार) नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहस मा पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै महासचिव शर्माले प्रचण्डले आफ्नो पार्टीलाई विभाजन गराएको र मित्रघात गरेको आरोप लगाए। शर्माका अनुसार प्रचण्डले आत्मालोचना नगरेसम्म आफूहरू समाजवादी मोर्चामा नजाने स्पष्ट पारे।
प्रचण्डले मित्रघात गरेको आरोप
महासचिव शर्माले भने, “यसको मूल कारण पूर्व प्रधानमन्त्री प्रचण्डजी हुनुहुन्छ। हामीले लामो समयदेखि मित्रता गर्यौं, उहाँलाई साथ, सहयोग गर्यौं। तर, उहाँले मित्रघात गर्नुभयो। हाम्रो पार्टीलाई विभाजन गर्नमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो। उहाँमा इमानदारिता नदेखिएको कारण यो मित्रता रोकिएको हो।”
देश, जनता, लोकतन्त्र, र नागरिकको उज्ज्वल भविष्यका लागि समाजवादी मोर्चा बनाउनु पर्ने आवश्यकता रहेको उल्लेख गर्दै शर्माले भने, “प्रचण्डले आफ्ना स्वार्थका लागि मोर्चा बनाउने र भत्काउने काम गर्नुभएको छ।” शर्माले थप दाबी गरे, “प्रचण्डले सार्वजनिक भाषणमार्फत नै जसपा नेपाललाई विभाजन गरिदिएको स्वीकार गर्नुभएको छ। उहाँको यो कदम अक्षम्य अपराध हो।”
समाजवादी मोर्चा कमजोर बनाउन प्रचण्ड जिम्मेवार
समाजवादी मोर्चा कमजोर बन्नुमा प्रचण्डको प्रत्यक्ष संलग्नता रहेको शर्माले दाबी गरे। उनका अनुसार प्रचण्डको गैरइमानदार व्यवहारकै कारण जसपाले मोर्चासँगको दूरी बढाएको हो। शर्माले भने, “उहाँले जसरी हाम्रो पार्टी र नेतृत्वसँग व्यवहार गर्नुभयो, त्यसले हाम्रो दूरी बढाएको छ। प्रचण्डजीकै कारणले हामी यो मोर्चाबाट अलग भएका हौं।”
महासचिव शर्माले प्रचण्डले आत्मालोचना गर्दै नयाँ वातावरण सिर्जना नगरेसम्म मोर्चामा फर्किने कुनै सम्भावना नरहेको बताए।
समाजवादी मोर्चा बनाउने आवश्यकता
महासचिव शर्माले देशको लोकतान्त्रिक भविष्य सुनिश्चित गर्न समाजवादी मोर्चा बलियो बनाउनु पर्नेमा जोड दिए। तर, व्यक्तिगत स्वार्थका कारण मोर्चा बलियो बन्न नसकेको उनले बताए। शर्माले प्रचण्डलाई मित्रता र सहकार्यमा इमानदारी देखाउन आग्रह गरे।
समाजवादी मोर्चा कमजोर बनाउने र देशको राजनीतिक स्थायित्वलाई चुनौती दिने यस्ता कदमहरू रोक्न सबै दलहरू इमानदारीपूर्वक अघि बढ्नुपर्ने शर्माको भनाइ छ।





