राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने जोडिएको बुटवलको सुप्रिम सहकारीको रकम अपचलन मुद्दाको अनुसन्धान प्रतिवेदन प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ।
इलाका प्रहरी कार्यालय बुटवलले बिहीबार सुप्रिम सहकारीको रकम अपचलन मुद्दाको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको हो।
पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा लामिछाने जिल्ला अदालत कास्कीबाट ६५ लाख रुपैयाँ धरौटी बुझाएर बिहीबार छुटेका थिए।
प्रहरीले लामिछानेलाई मुद्दा चलाउनुपर्ने रायसहितको प्रतिवेदन बुझाएको बताइएको छ।
बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि कास्की प्रहरीको हिरासतमा रहेका लामिछाने कार्तिक २७ गते भैरहवास्थित सरकारी वकिलको कार्यालयमा पुगेर बयान दिएका थिए।
सुप्रिम सहकारीका एक हजार ८३१ बचतकर्ताको ८६ करोड १८ लाख बढी बचत रकम हिनामिना गरेको दाबी गर्दै गत वैशाख ३ गते लामिछाने सहित २८ जनाविरुद्ध मुद्दा दायर भएको थियो।





