गणतन्त्रपछि पनि मधेशीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आएनः उपेन्द्र यादव

 जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले राजतन्त्रको अन्त्यपछि बहुदलीय व्यवस्था हुँदै अहिले गणतन्त्रमा आइसक्दा पनि मधेसी समुदायमाथि हेर्ने दृष्टिकोणमा परिवर्तन नआएको बताएका छन् ।

जनतासँग जसपा नेपाल आधारभूत संगठन निर्माण अभियानअन्तर्गत सप्तरीको कंचनरूपमा आज आयोजित अभिमुखीकरण कार्यक्रममा अध्यक्ष यादवले मधेशीमाथिको भेदभाव, असमानता, शोषण र उत्पीडनमा कुनै कमी नआएको बताएका हुन् । मधेसी, आदिवासी जनजाति, मुस्लिम, थारु, महिला र दलित समुदायलाई राजनैतिक रूपमा पछाडि पार्ने काम हुँदै आइरहेको पनि उनले बताए ।

अध्यक्ष यादवले बहुदलीय व्यवस्था आएको ३५ वर्षमा मुलुकको अवस्था थप जर्जर भएको बताए । २०४६ को परिवर्तनपछि ३५ वर्षमा ३७ सरकार बने पनि सुशासन, गरिबी र बेरोजगारी हटाउनेतर्फ कुनै सम्भावना ल्याउन नसकेको यादवको आरोप छ । पछिल्लो ३५ वर्षमा कांग्रेस र कम्युनिस्टले देशलाई समस्यामा पारेको आरोप लगाउँदै उनले मुलुकमा भ्रष्टाचारीतन्त्र, कमिसनतन्त्र र लुटतन्त्र स्थापित भएको बताए । हरेक निकायमा कमिसनको खेल रहेको बताउँदै जसपा नेपालका अध्यक्ष यादवले बिचौलिया र कर्मचारीतन्त्र मिलेर मुलुक चलाउन खोजेको आरोप लगाए ।

सरकारको नेतृत्व गर्ने कांग्रेस र कम्युनिस्टले मुलुकलाई भ्रष्टाचारको दलदलमा फसाएको आरोप लगाउँदै यादवले शिक्षा, कृषि, उद्योग, उत्पादन सबै क्षेत्रलाई पछिल्लो ३५ वर्षमा धराशयी बनाइएको आरोप पनि लगाए ।