ऋषिकेश पोखरेलका स्वकीय सचिव अनिलकुमार पोख्रेलविरुद्ध पक्राउ पूर्जी जारी

एमबीबीएसमा नाम निकालिदिने भन्दै ३८ लाख ३० हजार रुपैयाँ ठगी गरेको आरोप लागेपछि बर्खास्तीमा परेका संसद्को सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका स्वकीय सचिव अनिलकुमार पोख्रेलविरुद्ध पक्राउ पूर्जी जारी भएको छ ।

पोखरेललाई सोमबार पक्राउ गरी अनुसन्धान गर्न मोरङ अदालतले अनुमति दिएको हो । मोरङको रंगेली नगरपालिका–२ घर भई हाल काठमाडौं बस्ने अनिल पोखरेलले छोरीलाई पार्टीको कोटाबाट एमबीबीएसमा नाम निकालिदिने भन्दै सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका–५ बकधुवाका बौआलाल चौधरीसँग ३८ लाख ३० हजार लिएका थिए । सो प्रकरण बाहिरिएपछि गत शुक्रबार उनी स्वकीय सचिवबाट बर्खास्तीमा परेका थिए ।

अनिलविरुद्ध प्रहरीले उजुरी लिन नमानेको भन्दै चौधरीले उच्च अदालत विराटनगरमा २०७९ सालमा मुद्दा दर्ता गराएका थिए । उनीविरुद्ध उजुरी दर्ता गरी अनुसन्धान गर्न उच्च अदालतले मोरङ प्रहरीलाई परमादेश दिएपछि सभापति पोखरेलले अनिललाई स्वकीय सचिव पदबाट हटाएका हुन् ।

अनिलकुमार पोखरेल एमालेको मोरङ जिल्ला कमिटी सदस्य हुन् । उनी २०७९ को निर्वाचनमा प्रदेशसभा सदस्यको उम्मेदवारमा जिल्ला कमिटीबाट सिफारिस भएका थिए । तर, अन्तिममा टिकट भने लिलावल्लभ अधिकारीले पाए ।