मुलुकका प्रतिक्रियावादी शक्तिहरू आतङ्कित भएको ओलीको टिप्पणी

प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकका प्रतिक्रियावादी शक्तिहरू आतङ्कित भएको टिप्पणी गरेका छन् ।

आजदेखि पार्टी मुख्यालय च्यासलमा सुरु एमालेको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले प्रतिक्रियावादी शक्तिहरू निर्दयी र अमानवीय रूपमा एमालेविरुद्ध झुटा प्रचारमा लागेको टिप्पणी गरेका हुन् । एमालेलाई बदनाम गर्न विरोधीहरू लागेकाले पार्टीका सही नीतिका आधारमा एकताबद्ध भई झुटा प्रचार चिरेर पार्टीलाई निर्णायक शक्ति बनाउन जनस्तरमा लाग्न उनले नेताहरूलाई आग्रह गरे ।

साथै, ओलीले पार्टीबाट गुटबन्दी र अराजकता अन्त्य गर्नुपर्ने बताए । लोकतन्त्रका नाममा पार्टीभित्र गुटबन्दी गरेर भाँडभैलो मच्याउने कार्यले पार्टीलाई कमजोर बनाउने भन्दै उनले बहकावमा लागेर नभइ एउटै नीतिगत लयमा पार्टी र देशको स्वार्थलाई केन्द्रमा राखेर आफुहरु अगाडि बढ्न सक्नुपर्ने बताए । पार्टीका आन्तरिक विषय सार्वजनिक खपतका लागि प्रस्तुत नगर्न पनि ओलीले सचेत गराए । पार्टीलाई विभाजन गरेर वा सिध्याइयो भनेर लड्डु खाएका कतिपय नेताहरूलाई अहिले लड्डु ओकल्नुपरेको पनि उनको टिप्पणी छ ।

आज बसेको केन्द्रिय कार्यसमितिको बैठकमा अध्यक्ष ओलीले ४३ पृष्ठ लामो लिखित राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन । प्रतिवेदनमा नयाँ राजनीतिक कोर्स-एमाले र नेपाली काङ्ग्रेससँगको गठनबन्धनको आवश्यकता, औचित्य र अवसर, यस गठनबन्धनपछिका ६ महिना, अस्थिरता, अराजकता र प्रायोजित निराशाका प्रयास, बदलिँदो विश्व परिवेश र नेपालको पराराष्ट्र नीति, उपनिर्वाचनको समीक्षा र निर्णायक राष्ट्रिय शक्तिको निर्माण आदि विषयवस्तु रहेका छन ।

नयाँ सरकार गठनपछि राजनीतिक स्थायित्वको सन्देश मिलेको, साझा नीतिगत प्रतिबद्धता र सङ्कल्प जारी भएको, सरकार सञ्चालनमा सहजीकरणका लागि आवश्यक संरचना बनाइएको, अर्थतन्त्रमा सुधार आएको, सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुन पारित भएको, राष्ट्रिय हितको रक्षा र सन्तुलित बाह्य सम्बन्ध कायम गरिएको, सहकारी क्षेत्रको बेथितिमाथि हस्तक्षेप गरी बचतकर्तालाई न्याय तथा अनियमिततामा सम्लग्नलाई सजाय दिन थालिएको र विकास निर्माणले गति लिएको जस्ता मुख्य उपलब्धि हासिल भएको प्रतिवेदन ओलीले पेस गरेका छन् ।

बैठकमा राजनीतिक प्रतिवेदनका साथै साङ्गठनिक कामको सङ्क्षिप्त जानकारी, राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठक ९८-९, वैशाख, २०८१० पछि भएका केन्द्रीय सचिवालय र पोलिटब्युरो बैठकका निर्णयहरूको जानकारी, केन्द्रीय आयोगका अध्यक्षहरूको सम्बोधन, समसामयिक प्रस्ताव र विविध विषय कार्यसूची रहेको महासचिव शङ्कर पोखरेलले बैठकमा जानकारी गराएका थिए ।