सरकारको नियत ठीक नभएको माओवादी केन्द्रको निष्कर्ष 

 प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले सरकारको नियत ठीक नभएको निष्कर्ष निकालेको छ । आज बसेको स्थायी समितिको बैठकले सरकारले हिउँदे अधिवेशन छलेर अध्यादेशको बाटो रोजेको निष्कर्ष निकालेको प्रवक्तासमेत रहेका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

‘सरकारको नियत राम्रो देखिएको छैन, सदन छलेर सरकारले अध्यादेश ल्याउन खोज्दैछ। त्यो अध्यादेश पनि केका लागि भन्दा पार्टीहरूलाई विभाजन गर्नका लागि’ उनले भने | उनका अनुसार अब सबै दलहरूसँग छलफल गरेर संसद् आह्वानका लागि प्रभावकारी रुपमा दबाब चलाउनेगरी माओवादीले सोच बनाएको छ ।

‘यो सरकारको गतिविधि हेर्दा संसद् बोलाउन आनाकानी गर्ने अर्थात् बोलाउन ढिला गर्ने भएको छ । यी सबैले लोकतन्त्रमाथि नै गम्भीर समस्या पैदा हुँदैछ । लोकतन्त्रको आत्मा भनेको संसद् हो,’ बैठकपछि सञ्चारकर्मीसँग बोल्दै सापकोटाले भने, ‘संसद् नै नबोलाएपछि लोकतन्त्र फस्टाउँदैछ । कमसेकम बैठक त समयमा बोलाउनुपर्‍यो । बैठक पनि समयमा नबोलाउने भएपछि यो भन्दा गम्भीर कुरा अरु हुन सक्दैन ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एकीकतृ समाजवादी लगायतका दल फुटाउन अध्यादेश ल्याउन लागेको गाईगुईं हल्ला चल्न थालेको छ । यो चर्चाले गर्दा हिउँदे अधिवेशन बोलाउनसमेत ढिलाइ भइरहेको छ । सरकारले हिँउदे अधिवेशन रोकेर अध्यादेश ल्याउन खोजेको चर्चा भइरहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले केही महिनाअघि नै राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन खोजेका थिए । त्यतिबेला सत्तारुढ गठबन्धनको कांग्रेसले असहमति जनाएको थियो । सुरुमा सहमति दिए पनि अन्तिम समयमा कांग्रेस सभापति शेरबहादुर देउवाले असहमति जनाएकै कारण मन्त्रिपरिषद् बैठक रोक्नु परेको थियो । अहिले भने कांग्रेसले पनि सहमति दिएको स्रोतको दाबी छ ।