नेपाली काँग्रेसका नेता शेखर कोइरालानिकट विद्यार्थीहरूले नेविसंघ अध्यक्ष दुजाङ शेर्पामाथि आर्थिक हिनामिनाको आरोप लगाएका छन् ।
केन्द्रीय सदस्य प्रेमिका राना मगरले आज जारी गरेको विज्ञप्तिमा विद्यालय पुनर्निर्माणका लागि संकलित रकम पनि व्यक्तिगत खातामा राखेर हिनामिना गरेको आरोप छ । विज्ञप्तिमा भनिएको छ, ‘अध्यक्ष दुजाङ शेर्पाले २०८० कार्तिक १७ गते जाजरकोटमा आएको भूकम्पबाट क्षतिग्रस्त नलगाड नगरपालिका ५ मा रहेको नेपाल राष्ट्रिय प्राथमिक विद्यालय पुनः निर्माण गर्ने जिम्मा नेविसंघले लिएको घोषणा जाजरकोटमै पुगेर गरेको स्मरण गराउँदै उक्त विद्यालय हालसम्म अलपत्र रहेको र तत्कालिन समयमा नेपाल राष्ट्रिय प्राथमिक विद्यालय पुनः निर्माणका लागि संकलित रकमको हिसाबसमेत सार्वजनिक नगरी व्यक्तिगत खातामा रकम संकलन गरेर आर्थिक हिनामिना भएको समेत सबैमा जानकारी गराउँदछौं ।’
जय नेपाल कपको नाममा भइरहेको आर्थिक लेनदेन, चन्दा असुली रोक्न र विद्यालय पुनः निर्माणका लागि यसअघि संकलित रकमको हिसाबकिताब सार्वजनिक गरी जाजरकोटमा भूकम्पको समयमा घोषणा गरिएको क्षतिग्रस्त विद्यालय पुनः निर्माणमा जुट्न पनि उनले आग्रह गरेकी छन । आर्थिक लेनदेन, चन्दा संकलन र गैरसांगठनिक क्रियाकलापमा अध्यक्ष शेर्पा अग्रसर भएको आरोप संस्थापनइतर विद्यार्थीहरूको छ ।





