गगन थापाको प्रस्ताव: देउवा, ओली र प्रचण्डको उपस्थितिमा भ्रष्टाचारका कुन-कुन फाइल खोल्नेबारे छलफल गरौं

१८ पुस, काठमाडौं: नेपाली कांग्रेसका महामन्त्री गगन थापाले तीन पूर्वप्रधानमन्त्रीको उपस्थितिमा भ्रष्टाचारका कुन-कुन फाइल खोल्ने भनेर छलफल गर्न आवश्यक रहेको बताएका छन्। बिहीबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा महामन्त्री थापाले यस्तो आग्रह गरेका हुन्।

महामन्त्री थापाले समितिको बैठकमा भने, “एक जना पूर्वप्रधानमन्त्री यही हुनुहुन्छ, अर्को पूर्वप्रधानमन्त्री अर्को समितिमा आइराख्नुभएको छ। अर्को एक जनालाई पनि बोलाएर यहीँ छलफल गरौं। भ्रष्टाचारको कुन-कुन फाइल खोल्ने हो छलफल गरौं।”

राज्य व्यवस्था समितिको बैठकमा वर्तमानमा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ उपस्थित छन्। अर्का पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा कानुन, न्याय तथा मानव अधिकार समितिमा उपस्थित छन्। यसै क्रममा थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि उपस्थित गराउने र राज्य व्यवस्था समितिमा भ्रष्टाचारका फाइल खोल्नेबारे छलफल गर्नुपर्ने बताएका छन्।

उनले भने, “समाजमा सबै नेताहरू कुनै न कुनै भ्रष्टाचारमा संलग्न रहेको पर्न गएको छ, त्यसैले एकीकृत रुपमा समाधान खोज्नुपर्ने आवश्यकता छ।”

महामन्त्री थापाले थपे, “सरकारमा रहँदा मौन रहने र सरकारबाट बाहिर रहेपछि भ्रष्टाचारका फाइल खोल्ने कुरा देखिन्छ, त्यसैले यो विषय शीर्ष तहमै छलफल गर्नुपर्ने हो।”

उनले एक शक्तिशाली आयोग गठन गर्न र सबैको सम्पत्ति छानबिन गर्नुपर्ने आवश्यकता औंल्याए। “हामी सबैको सम्पत्ति छानबिन गरौं। बाहिर यसो वा त्यो भ्रष्टाचारको फाइल खोल्नुपर्छ भनेजस्तो कुरा नगर्नुहोस्,” महामन्त्री थापाले भने।