काठमाडौं, १७ पुस: नेकपा एमालेबाट निष्कासित नेता डा. भीम रावलले आफूलाई सोधिएको स्पष्टीकरणबाट छक्क परेको बताएका छन्। बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता रावलले स्पष्टीकरण वा दोषपत्र भन्ने द्विविधामा परेको बताए।
“६ कात्तिकमा स्पष्टीकरण हात पर्यो। मैले पत्रलाई राम्रोसँग गम्भीर भएर पढेँ। हालसम्मको एमालेको इतिवृतान्तको सम्झना भयो,” रावलले भने। उनले पत्रप्रति शंका व्यक्त गर्दै थपे, “स्पष्टीकरण पत्र हो कि दोषपत्र भन्ने द्विविधा भयो। पत्र भीमबहादुर रावल नेकपा एमालेलाई लेखिएको रहेछ। मेरो नाममा सदस्य वा पद उल्लेख गरिएको छैन। म छक्क परेँ।”
पार्टी सदस्य नभएको व्यक्ति स्पष्टीकरणको घेरामा?
डा. रावलले पत्रकार सम्मेलनमा आफ्नो नाम र पद उल्लेख नगर्नु पार्टी नेतृत्वको पूर्वाग्रह र द्वेषपूर्ण व्यवहारको प्रमाण भएको बताए। उनले भने, “पार्टीको सदस्य वा कुनै स्थान नभएको व्यक्तिलाई स्पष्टीकरण सोधिन्छ र? यसरी स्थान उल्लेख नहुनु केपी ओली गुटको म प्रतिको पूर्वाग्रह र चरम द्वेष र निषेधात्मक मनस्थितिको प्रतिबिम्ब हो।”
केपी ओली गुटप्रति कडा आलोचना
डा. रावलले पार्टी नेतृत्वको आलोचना गर्दै ओली गुटले राजनीतिक प्रतिशोधको रूपमा आफूलाई टार्गेट गरेको बताए। “स्पष्ट रुपमा मेरो राजनीतिक योगदानलाई अस्वीकार गर्दै पार्टीभित्रको व्यक्तिगत प्रतिशोधलाई अगाडि सारिएको छ,” उनले भने।
उनले थपे कि यस्तो अवस्थामा नेकपा एमालेले आन्तरिक लोकतन्त्र र विधिको शासनको ख्याल गरेको छ भन्ने कुनै आधार नरहेको जिकिर गरे।
पार्टी विभाजन र आन्तरिक संघर्ष
भीम रावलको पछिल्लो अभिव्यक्ति नेकपा एमालेभित्रको आन्तरिक संघर्ष र विभाजनको स्पष्ट उदाहरण हो। पार्टी नेतृत्वले डा. रावलमाथि गरेको कारबाहीलाई उनले “असंगत” र “राजनीतिक पूर्वाग्रह”को रूपमा व्याख्या गरेका छन्।
डा. रावलले पार्टीको आगामी नीति र कार्यशैलीप्रति शंका व्यक्त गर्दै सबै कार्यकर्तालाई सुसूचित हुन आग्रह गरेका छन्।





