राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित ५१ जनाविरुद्ध अनुसन्धान पूरा गरी रायसहितको प्रतिवेदनमा १ अर्ब ५१ करोड बिगो माग गरिएको छ।
अनुसन्धान प्रतिवेदनमा रविसँगै नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीलगायतलाई प्रतिवादी बनाउन माग गरिएको छ। कास्की प्रहरीले लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध, र सम्पत्ति शुद्धिकरणको आरोपमा कारबाहीका लागि प्रतिवेदन तयार पारेको जनाएको छ।
५१ जनालाई प्रतिवादी बनाइए पनि ३७ जना फरार रहेको र १४ जनालाई मात्र पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ। फरार प्रतिवादीहरूको खोजी जारी रहेको जनाइएको छ।
प्रहरीले ५१ जनाविरुद्ध १ अर्ब ५१ करोड ४० लाख १९ हजार १९४ रुपैयाँ बिगो मागदाबी गरेको छ। सोमबार सरकारी वकिल कार्यालयमा बुझाइएको उक्त प्रतिवेदन अध्ययनपछि जिल्ला अदालत कास्कीमा दर्ता गरिनेछ।
१ अर्ब ५१ करोड ४० लाख रकममध्ये गोर्खा मिडियामा आएको रकमलाई रविसहितको जिम्मेवारी भनिएको छ। कास्कीको सूर्यदर्शन सहकारी संस्थामा बचतकर्ताले राखेको रकम अनियमितता भएको पुष्टि गर्दै प्रहरीले प्रतिवेदन तयार पारेको हो।





