मुलुकलाई समृद्धि र स्थिरताको यात्रामा लैजान दुई ठुला दल मिलेका हुन्- प्रधानमन्त्री 

प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक अस्थिरता अन्त्य गर्दै देशलाई विकृतिबाट सुकृतितर्फ लानका लागि वर्तमान संयुक्त सरकार बनेको स्पष्ट गरेका छन् । 

ज्यापु संस्कृति विकास कोषद्वारा आज वसन्तपुरमा आयोजित २१ औँ राष्ट्रिय ज्यापु दिवसको समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मुलुकमा भएको राजनीतिक परिवर्तनलाई धरापमा पार्ने र परिवर्तनमा योगदान गरेका दललाई अनावश्यक भ्रम फैलाएर बद्नाम गर्ने कोशिश भएकाले ठुई ठुला दलको सहकार्यमा सरकार बनेको बताएका हुन् । 

यो सरकार केवल सरकार बनाउनका लागि नभई मुलुकका समृद्धि र स्थिरताको यात्रालाई अगाडि बढाउन गठन भएको उनको भनाइ थियो । 

“गुठीको संरक्षण गर्न कानुन बनाउनुपर्छ भन्दा मविरुद्ध भ्रम फैलाइएर विरोध गरियो । प्रहार गरियो । भ्रष्टाचारमा उजुरी परेका माथि २० औँ वर्षसम्म होइन सकेसम्म छिटो र बढीमा पाँच वर्षभित्र छिनोफानो हुनुपर्छ भन्दा भ्रष्टाचार गरेकालाई बचाउन खोज्यो भनेर गलत प्रचार गरियो ।  यस्ता हल्लाहरु नेपालमा भाँडभैलो मच्याउने प्रयासका उपज हुन् ।”, प्रधानमन्त्री ओलीले भने, “नेपाल भाँड्नका लागि  र हाम्रो एकता भत्काउनका लागि कतिपयले हल्ला गर्ने गरेका छन् तर हामी साम्प्रदायिक विद्षका पछाडि होइन, सामाजिक सद्भावमार्फत राष्ट्रिय एकता ल्याउन चाहान्छौँ । यो जातलाई खेद, अर्काे जातलाई खेद भन्दैनौँ । बैँकको ऋण नतिर भन्दैनौँ । नयाँ नेपाल निर्माणको महान अभियानमा हामी छौं । नेपाललाई गरिबीबाट समृद्धि र सुखी बनाएरै छाड्नेछौँ ।”