सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि अनुसन्धानका लागि पाँच दिन म्याद थप भएको छ ।
गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका रविका लागि पछिल्लो पटक थपिएको ४ दिनको म्याद सकिएपछि आज कास्की जिल्ला अदालतमा उपस्थित गराइएको थियो । अदालतले अनुसन्धानका लागि पाँच दिन म्याद थप दिएको जिल्ला अदालत कास्कीका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए ।
सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका लामिछानेसहितलाई सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान भइरहेको छ । उनलाई कास्कीसहित रुपन्देही, काठमाडौं, चितवन र पर्सासमेत लगेर बयान लिइएको थियो । कास्कीको सूर्यदर्शन सहकारी, काठमाडौंको स्वर्णलक्ष्मी सहकारी, चितवनको सहारा सहकारी, रुपन्देहीको सुप्रिम सहकारी र पर्साको सानोपाइला सहकारीको रकम गैरकानूनी तवरले गोर्खा मिडिया नेटवर्कमा ल्याएर अपचलन गरेको आरोप रविमाथि छ ।





