सूचना प्रविधिको क्षेत्रमा सरकारले काम गर्दैछः मन्त्री गुरुङ

 सन्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले सूचना, प्रविधिको क्षेत्रमा तिव्र रुपले काम गरिरहेको र अझ धेरै काम गर्न बाँकी रहेको बताउनुभएको छ । काठमाडौं विश्वविद्यालय कम्प्युटर क्लबले आयोजना गरेको सूचना प्रविधि मेला २०२४ को शुक्रबार उद्घाटन गर्नुहुँदै मन्त्री गुरुङले त्यस्तो बताउनुभएको हो । 

उहाँले सरकारले सूचना प्रविधिको विकासका लागि काम गर्ने बताउँदै त्यसका लागि सरकारको काममा यस क्षेत्रमा कार्यरत सङ्घ संस्थालाई पनि आग्रह गर्नुभयो । ‘सरकारको अघिल्लो आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेटमा सूचना, प्रविधिको दशक भनेर सम्बोधन गरे पनि त्यसका लागि कुनै महत्व दिएर काम गरेको देखिएन’ मन्त्री गुरुङले भन्नुभयो । 

उहाँले नेपाललाई सूचना प्रविधिको हब बनाउन नीति, परिवर्तन र कानुन परिवर्तन गर्नुपर्नेछ भने यी काम सम्पन्न भएपछि त्यसका लागि आवश्यक संरचना निर्माण गर्नुपर्ने बताउनुभयो । उहाँले डिजिटल नेपाल फ्रेमवर्कका लागि नीति, रणनीति, कानुन बनाएर फ्रेमवर्कभित्रका विभिन्न आठवटा क्षेत्रमा काम गर्नुपर्ने बताउनुभयो । उहाँले सरकारले मंसिर महिनाभित्र कृत्रिम बुद्धिमत्ता (आर्टिफिसियल इन्टेलिजेन्स)  को नीति र रणनीति ल्याउने तयारी गरिरहेको बताउनुभयो । एआईको नीति र रणनीति आएपछि सरकारले यसको कानुन बनाउने काम गर्नेछ, पछिल्लो समय एआईको प्रयोग बढेको पाइन्छ, यसका लागि ठाउँ–ठाउँमा ज्ञान केन्द्र बनाउनुपर्ने जरुरी देखिन्छ, ज्ञान केन्द्र निर्माणका लागि सहयोगी देश खोज्नुपर्छ’ मन्त्री गुरुङले थप्नुभयो ।

उहाँले डिजिटल नेपाल फ्रेमवर्क ई–गभर्नेन्सबाट सुरु गर्नुपर्ने बताउनुभयो । उहाँले ७५३ वटा स्थानीय सरकार, सात प्रदेश सरकार र सङ्घीय सरकारका विभिन्न मन्त्रालयमा ई–गभर्नेन्स लागू गरेको खण्डमा भ्रष्टाचार, घुसखोरी नियन्त्रण भई राजस्व वृद्धि हुने बताउनुभयो । मन्त्री गुरुङले सरकारले टिकटक कम्पनीलाई नेपालको शिक्षा र पर्यटनमा सघाउन आग्रह गरिएको बताउनुभयो । 

यस्तै, मेटा कम्पनीलाई पनि तीन महिनाभित्र सम्पर्क गर्न अनुरोध गरिएको बताउँदै उक्त कम्पनीलाई नेपालमा स्वास्थ्य, ई–गभर्नेन्स र औद्योगीकरणमा सहयोग गर्न आग्रह गरिएको बताउनुभयो । उहाँले नेपाललाई सूचना प्रविधिको हब बनाउने विषयमा विभिन्न कम्पनीसँग छलफल भएको र त्यसका लागि विदेशी लगानी आवश्यक हुने बताउनुभयो ।