काठमाडौं, २८ कात्तिक – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी विभाजनपछि सुरु भएको माओवादीको कठिन यात्रा समाप्त भएर अब पार्टीले उकालो यात्रा सुरु गरेको बताएका छन्। मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका नेताहरुलाई माओवादी केन्द्रमा स्वागत गर्दै अध्यक्ष प्रचण्डले यो धारणा व्यक्त गरेका हुन्।
अध्यक्ष प्रचण्डले जनयुद्ध, शान्ति प्रक्रिया, र २०६४ को संविधानसभा निर्वाचनसम्म माओवादी जनताको सबैभन्दा भरोसायोग्य र अग्रणी पार्टी बनेको स्मरण गर्दै विभाजनपछि उत्पन्न समस्याहरुले माओवादीलाई कमजोर बनाएको बताए। अब भने माओवादीको यात्रा परिवर्तनसहित उकालो लाग्ने र निरन्तर अघि बढ्ने उनको विश्वास रहेको छ।
अध्यक्ष प्रचण्डले जनताले माओवादी एकताबद्ध देख्न चाहेको र एकताको वातावरण पनि बन्दै गएको बताएका छन्। पार्टी एकताका लागि विभिन्न माओवादी घटकहरुसँग छलफल चलिरहेको र नेता-कार्यकर्ताहरुको स्वस्फूर्त ध्रुवीकरण भइरहेको प्रचण्डले उल्लेख गरे। जनयुद्ध र शान्ति प्रक्रियामा मुख्य नेतृत्वदायी भूमिका रहेको हैसियतले आफूले सबैलाई एकताबद्ध गर्दै अघि बढ्ने उनको प्रतिवद्धता व्यक्त गरे।
अध्यक्ष प्रचण्डले माओवादीको पुनःएकताले जनतामा २०६४ सालकै जोश देखिन थालेको र आफूले प्रधानमन्त्रीको रुपमा थालेको सुशासन, सामाजिक न्याय, र समृद्धिको पक्षमा जनताको विश्वास बढेको बताए। हालै विभिन्न जिल्लाहरुमा माओवादीप्रतिको आकर्षण र समर्थन पुनःमजबुत हुँदै गएको उनको भनाई थियो।
सो अवसरमा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका केन्द्रीय सदस्य डा.थारु ‘शेरमान’, लुम्बिनी प्रदेश सदस्यहरु वीरबहादुर बिक ‘संघर्ष’, तुकलाल पुन ‘यात्री’, माया थापा, नन्दकिशोर यादव, र कपिलवस्तु जिल्ला सदस्य रामप्रसाद खनाल माओवादी केन्द्रमा प्रवेश गरे। कपिलवस्तु जिल्लाका सबै नेता-कार्यकर्ताहरु छिट्टै औपचारिक कार्यक्रममा माओवादी केन्द्रमा सामेल हुने जानकारी डा. थारुले दिए।
प्रचण्ड निवास खुमलटारमा आयोजित सो कार्यक्रममा माओवादी केन्द्रका लुम्बिनी प्रदेश इञ्चार्ज चक्रपाणि खनाल ‘बलदेव’को उपस्थिति पनि रहेको थियो।





