सत्तारुढ दल नेकपा एमालेले काठमाडौं जिल्ला अन्तर्गत हुने स्थानीय तह उपनिर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको छ । जिल्ला कमिटीको बुधबार बसेको बैठकले कीर्तिपुर नगरपालिकाको मेयरसहित सबै उम्मेदवारको टुंगो लगाएको हो ।
त्यस्तै कीर्तिपुर वडा नम्बर १ को अध्यक्षमा हर्ष महर्जन र ४ मा बद्री बुढाथोकीलाई उम्मेदवार बनाउने निर्णय भएको छ । काठमाडौं महानगरपालिका वडा नम्बर १६ को अध्यक्षमा लक्ष्मीरत्न तुलाधरलाई जिल्ला कमिटीले पनि सर्वसम्मत सिफारिस गरेको छ ।
यी सबै उम्मेदवार सम्बन्धित वडा र नगर कमिटीबाट सर्वसम्मत सिफारिस भएको हो ।
०७९ सालको निर्वाचनमा तत्कालीन सत्ता गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेस नेता राजकुमार नकर्मीको निधनपछि त्यहाँ उपनिर्वाचन हुन लागेको हो।
अघिल्लो चुनावमा ९०४३ मत ल्याएर नकर्मी विजयी बन्दा एमाले उम्मेदवार केशरत्न बज्राचार्य ५५०७ मतमा रोकिएका थिए । कीर्तिपुर नगरपालिका बनेदेखि कहिल्यै पनि पराजित नभएको एमालेलाई सत्ता गठबन्धनको बलमा कांग्रेसका नकर्मीले पराजित गरेका थिए । यसपाली एमालेले त्यो विरासत फर्काउने लक्ष्य लिएको छ ।
काठमाडौंको कीर्तिपुर नगरपालिका १ नम्बर वडा अध्यक्ष हिरालाल महर्जन, काठमाडौंको काठमाडौं महानगरपालिका १६ नम्बर वडा अध्यक्ष मुकुन्द रिजाल र काठमाडौंको कीर्तिपुर नगरपालिका ४ नम्बर वडा अध्यक्ष श्यामकुमार अधिकारीको निधनपछि त्यहाँ पनि उपनिर्वाचन हुँदैछ । रिजाल र महर्जन कांग्रेसबाट र अधिकारी स्वतन्त्रबाट उम्मेदवार बनेका थिए ।





