नेकपा एमालेले काठमाडौंमा उपचुनाव हुन लागेका चार वटै सीटमा उम्मेदवार टुंगो लगाएको छ। जिल्ला कमिटीको आज बसेको बैठकले कीर्तिपुर नगरपालिकाको मेयरसहित सबै उम्मेदवारको टुंगो लगाएको जिल्ला इन्चार्ज आनन्द पोखरेलले जानकारी दिए।
महासचिव शंकर पोखरेलको उपस्थितिमा बसेको बैठकले कीर्तिपुरको मेयरमा केन्द्रीय सदस्य डा. सुरेन्द्र मानन्धरलाई उम्मेदवार बनाउन सर्वसम्मत सिफारिस गरेको जिल्ला अध्यक्ष दीपक निरौलाले बताए।
संवैधानिक कानून विषयमा विद्यावारिधि गरेका कीर्तिपुरका लोकप्रिय नेता मानन्धरलाई सर्वसम्मत रुपमा अघि सारेर नगर कमिटीले विजयी पहल थालेको निरौलाले दाबी गरे।





