सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा पक्राउ परेपछि संसद्को चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी यतिवेला आन्दोलित छ । गत शुक्रबार साँझ पौने ७ बजे काठमाडौंबाट पक्राउ गरी लामिछानेलाई कास्की पुर्याईएको छ। हिजोमात्रै जिल्ला अदालतले लामिछानेलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरी प्रशासनलाई अनुमति दिइसकेको छ।
रास्वपाको आन्दोलन शान्तिपूर्ण भनिएपनि लामिछानेका समर्थकहरुले उच्छृंखल गतिविधि गर्न थालेपनि सो दलका शीर्ष नेताहरु चिन्तित छन् । सभापतिको लागि पार्टीलाई नै सति लाने कुरा शोभनीय नहुने र कानूनी राजको उपहास हुने भएको निश्कर्षसहित उपसभापति डा. स्वर्णिम वाग्लेले आफ्नो कोर टिमसँग आन्दोलनबाट ब्याक हुने विषयमा छलफल चलाएका थिए ।
उनको टिममा आन्दोलनबाट ब्याक हुने मोटामोटी समझदारी बनेपछि लामिछानेका प्रिय पात्र अर्का उपसभापति डिपी अर्यालसँगपनि वाग्लेको छलफल भएको थियो । लगत्तै वाग्ले र अर्यालले सभापति लामिछानेसँग हिरासतमै भेट गरी भावी योजनाबारे संक्षिप्त छलफल गरेको बताईएको छ । सो छलफलमा बुधबारबाट आन्दोलनबाट ब्याक हुने विषयमा तीनै जना नेताबीच समझदारी बनेको बताईन्छ ।
आन्दोलन जारी राख्दा विस्तारै जनसमर्थनपनि गुमाउने र वैकल्पिक राजनीतिको नारा दिने दलले कानूनी शासनलाई आत्मसात नगरेको सन्देश प्रवाह हुँदा पार्टीलाई गम्भीर क्षति पुग्ने नेताहरुको निश्कर्ष छ । उनीहरु बुधबारबाट आन्दोलनबाट ब्याक भएर काठमाडौंकेन्द्रित आन्दोलनको तयारीमा जुट्ने बुझिएको छ । त्यसको लागि रास्वपाको नेतृत्व पँक्तिले सिके राउतदेखि काठमाडौंका मेयर बालेन शाहसम्मलाई सन्देश पठाएर नैतिक समर्थन लिन खोजेको छ ।





