प्रहरी बलसम्बन्धी नयाँ कानुन बनाउने गृहमन्त्री लेखकको आश्वासन

गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसम्बन्धी कानुन संशोधन गरेर नयाँ कानुन बनाउने कामलाई प्राथमिकता दिएको आश्वासन दिएका छन् ।

आज ६९ औँ प्रहरी दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले दुवै प्रहरी सङ्गठनका लागि आवश्यक कानुन निर्माणमा सरकारले प्राथमिकता दिएको बताएका हुन । उनले भनेका छन्,‘म यहाँहरूलाई विश्वास दिलाउन सक्छु, सङ्घीय संसद्को आगामी अधिवेशनबाट यी दुवै सुरक्षा फौजका निमित्त नयाँ कानुन निर्माण गरेर समसामयिक कानुन प्रचलनमा ल्याइनेछ ।’

उक्त कानुन प्रचलन आएपछि हित, वृत्ति विकास हुने मन्त्री लेखकको विश्वास छ । उनले आगामी दिनमा सुरक्षा सङ्गठनहरूलाई थप सशक्त बनाउन सरकारले गर्न सक्ने सबै उपायहरू अवलम्बन गर्ने समेत बताएका छन् ।