गृहमन्त्री रमेश लेखकले आगामी एक साताभित्र डाइभर्जनसहित विपद्का कारण अवरुद्ध बिपी राजमार्गमा सवारी चलाउने व्यवस्था हुने जानकारी दिएका छन् ।
आज बाढी, पहिरो प्रभावित जिल्लाको स्थलगत अवलोकनका क्रममा सिन्धुलीको खुर्कोट प्रभावित क्षेत्रको निरीक्षणपछि आयोजित कार्यक्रममा बोल्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन् । उनले अति भारी वर्षाका कारण आएको विपद्बाट सबैभन्दा बढी क्षति भएको बिपी राजमार्ग अस्थायी रूपमा सञ्चालनमा ल्याउन सडक विभाग र नेपाली सेना लागिरहेको जानकारी दिए ।
विपद्को पीडालाई सम्बोधन गर्न सरकार लागि परेको भन्दै गृहमन्त्री लेखकले जतिसक्दो चाँडो समस्याबाट पार पाउन सबै एकजुट हुनुपर्नेमा जोड दिए । विपद्को समस्या सबै मिलेर समाधानमा जुट्नुपर्ने उनको भनाई छ । उनले पालिकाहरूलाई तत्काल लाभग्राही विवरण पठाउन समेत आग्रह गरे ।
सिन्धुली, सिन्धुपाल्चोक र ललितपुरका केही क्षेत्रमा गृहमन्त्री लेखकसँगै भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, रक्षामन्त्री मानवीर राई र प्रधानसेनापति अशोकराज सिग्देलसहितको टोली बाढीरपहिरो प्रभावित क्षेत्रको अनुगमन गरिरहेका छन् । यसअघि गृहमन्त्री लेखकले काभ्रेपलाञ्चोक र ललितपुरको गोदावरी क्षेत्रको प्रभावित स्थल अनुगमन गरेका थिए ।





