जनमत पार्टी सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारीमा, नाउपा दशैंलगत्तै बाहिरिने

दशैंलगत्तै सत्ता समिकरणमा केही फेरबदल आउने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई समर्थन दिएका साना दलहरु नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीले समर्थन फिर्ता लिनेगरि छलफल थालेका छन् । नाउपाबाट त अरुणकुमार चौधरी वर्तमान सरकारमा पर्यटन राज्यमन्त्रीको जिम्मोवरीमा छन् । सिके राउत नेतृत्वको जनमतले सरकारलाई समर्थन दिएको छ ।

तर, सरकारमा सहभागी भएको छैन् । तर, जनमतले कांग्रेस र एमालेको समर्थनमा नै मधेश प्रदेशको सरकारको नेतृत्व लिएको छ । यस्तोमा राउतले अब सरकारलाई समर्थन जारी राख्न नसकिने भन्दै दशैंलगत्तै समर्थन फिर्ता लिनेगरि पार्टीभित्र छलफल थालेका छन् । रेशम चौधरीको नाउपाले पनि दशैंलगत्तै नै सरकारबाट बाहिरिने तयारी गरेको स्वयम रेशम चौधरीले भिडिओ सन्देशबाट प्रष्ट पारिसकेका छन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले पनि वर्तमान सरकार लामो नजाने दाबी गरिराखेका छन् । यद्धपी उनले आफू अहिले सरकार ढाल्ने खेलमा नलाग्ने स्पष्ट पारेका छन् । उनले सरकारलाई कसैले ढाल्न नपर्ने बरु आँफै कुहिएर झर्ने दाबी गर्दै आएका छन् । सरकारविरुद्ध स्वयम मुख्य सत्ता साझेदार दल नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहले दबाब बढाउँदै लगाएको छ ।

शेखरले त सार्वजनिक रूपमै वर्तमान सरकार ७ बुँदे सहमति कार्यान्वयन गर्नतर्फ पनि अग्रसर नभएको भन्दै आलोचना गरेका छन् । उनले पनि आफूनिकट नेताहरुलाई दशैंलगत्तै सरकारबारे सोच्नुपर्ने बेला भएको भनेर टिप्पणी गर्ने गरेका छन् । उनले संसदीय व्यवस्थामा संसद्का दुई ठूला दल मिलेर सरकार चलाउँदा मुलुक अधिनायकवादतर्फ जाने र देशमा स्वेच्छाचारिता मौलाउने खतरा औंल्याएका छन् ।