दुर्गा प्रसाईंविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर

मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गरिएको छ।  प्रहरीको साइबर ब्युरोको अनुसन्धान प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा मुद्दा दायर गरेको हो। प्रसाईंविरुद्ध साइबर सम्बन्धी दुईवटा मुद्दा दायर गरिएको छ। प्रसाई असोज ६ मा भक्तपुरस्थित घरबाट पक्राउ परेका हुन्।

प्रसाईंसँगै अदालतले पक्राउ अनुमति दिएको जीवन पाण्डे र प्रकाशचन्द्र दाहाल फरार छन्। युट्युब च्यानल ‘देश दुनियाँ खबर’मा प्रसाईंले राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध एक जना महिलाको ‘चरित्रहत्या गरेको’ आरोप छ। अर्का एक जना पुरुषले पनि प्रसाईं विरुद्ध जाहेरी दिएका छन्। दुबईबाट प्रसाईले पहलमान थापालाई मृत्युदण्डको मुखबाट जोगाएर नेपाल फर्काएको दाबी गरेका थिए। सो दाबीलाई स्वतन्त्र पार्टीमा आबद्ध ती महिलाले ‘च्यालेन्ज’ गर्दै प्रसाईंले उद्धार गरेको कुरा झुटो भएको बताइन्।

त्यसपछि प्रसाईले उनको विरुद्ध देश दुनियाँ खबरमा अन्तर्वार्ता दिँदै भनेका थिए, ‘जापानमा वेश्यावृत्ति गर्ने, केटालाई केटी मिलाइदिने, भँडुवाको काम गर्ने, दलालको काम गर्ने, हामीलाई थाहा छैन ? वेश्या, भँडुवा, पागलले हल्लाएर दुर्गा प्रसाई हल्लिँदैन।’