बिपी र अरनिको राजमार्ग भएर चल्ने सवारी सञ्चालन अनिश्चित

पानी नपरे आजैदेखि काठमाडौंबाट विभिन्न जिल्लाका लागि छुट्ने सार्वजनिक सवारीहरु सञ्चालन हुने भएका छन् ।

सार्वजनिक सवारी नचल्दा राजधानीमा दशैंको मुखमा सयौं यात्रु अलपत्र छन । अरनिको राजमार्ग भएर जाने दोलखा, रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक, काभ्रे लगायतकाबाहेक अन्य सबैजसो जिल्लाका लागि छुट्ने सार्वजनिक बसहरु पठाउने तयारी हुँदैछ । त्रिभुवन राजपथ, पृथ्वीरामार्ग, नारायणगढ मुग्लिन र पूर्वपश्चिम राजमार्ग भएर विभिन्न जिल्लामा जाने यात्रुबाहक सवारीहरु छुट्ने छन ।

शुक्रबार साँझदेखि लगातारको वर्षा र राजमार्गहरुमा बाढी र पहिरोका कारण भइरहेको अवरोधका कारण काठमाडौंबाट लामो दूरीका सवारी छुट्न पाएका थिएनन । जसकारण काठमाडौं आउँदै गरेका यात्रु बाटोमै अलपत्र परेको थिए भने नागढुंगा नाका भएर आउ–जाउ अवरुद्ध थियो । अवरोधहरु हटाउने क्रम सकिन लागेसँगै काठमाडौंबाट छुट्ने सार्वजनिक सवारीहरुलाई पनि यात्रु बोकेर जान अनुमति दिन लागिएको हो ।

महानगरीय ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रबिन कार्कीले धादिङको झ्याप्ले खोला तथा सिम्लेमा सडकमा अहिले पनि आंशिक अवरोध रहेको र त्यो हट्नासाथ बसरु छुट्न दिइने जानकारी दिए । सडक तथा पुलमा भएको क्षतिका कारण बिपी र अरनिको राजमार्ग भएर चल्ने सवारी भने कहिलेदेखि सञ्चालनमा आउँछन भन्ने अनिश्चित छ ।