प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेसम्म सबै दलको सहमतिमा संविधान संशोधन गरिने बताउनु भएको भएको छ ।
संविधान दिवस तथा राष्ट्रिय दिवस मूल समारोह समितिका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्नुहुँदै सो विचार व्यक्त गर्नुभएको हो ।
प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘‘राजनीतिक तहमा देखिएको अस्थिरताको सम्बोधन केही हदसम्म हामी संविधान संशोधनको माध्यमबाट पनि गर्न सक्छौं । यसप्रति निश्चय नै राष्ट्रिय चासो छ । म विश्वास दिलाउन चाहन्छु, संशोधन प्रक्रियामा हामीले संसद्को गणितीय सङ्ख्या मात्र हेर्ने छैनौं । सरकारमा रहेका पार्टीहरूको मात्र होइन, सकेसम्म सबै दलको सहमति प्राप्त गर्ने अधिकतम प्रयास गरिनेछ ।’’
प्रधानमन्त्री भन्नुभयो, ‘‘संविधानलाई समयानुकूल बनाउनु पर्छ । समयानुकूल बनाउने भनेको अनुकूल नभएका प्रावधान हटाउने वा परिमार्जन गर्ने हो । मेरो विचारमा संविधानको संशोधन भनेको लिखत र मर्म (लेटर एन्ड स्पिरिट) अनुसार नभएका वा बाधा पुगेको ठाँउमा परिवर्तन गर्नु हो । विद्यमान संविधानका अमिल्दा पक्षमाथि संशोधन गर्नु हो ।’’
संविधान संशोधन जनताका अधिकारीलाई अझ सबल र प्रभावकारी बनाउन संविधान संशोधन गर्न लागिएको स्पष्ट गर्दै प्रधानमन्त्रीले भन्नुभयो, ‘‘मलाई थाहा छ, एउटा नागरिकले संविधानको मर्मसँग आफ्नो भावनालाई साट्न खोज्छ । संविधानमा लेखिएको कुरा व्यवहारमा लागू होस् भन्ने चाहन्छ । नहुँदा आम नागरिक कहिलेकाहीँ निराश पनि हुन्छ । मैले संसद्मा विश्वासको मत लिँदै गर्दा भनेको थिएँ९ २०४६ सालपछिको पुस्ताले यति चरम निराशा सायद पहिलो पटक बोकेको र पोखेको छ । म देख्छु, खासगरी युवा पुस्ताभित्र असीमित ऊर्जा छ । केही गरौं भन्ने हुटहुटी छ, उत्प्रेरणा छ, सपना छ ।’’
- एउटा युवाले मैले देशभित्रै रोजगारी पाउँछु भनेर ढुक्क हुन पाओस्
- एउटा श्रमिकले मैले मर्यादित काम पाउँछु भन्ने विश्वास गर्न सकोस्
- प्रत्येक नागरिकलाई स्वास्थ्योपचारमा समान पहुँच होस्
- पेटमा अन्न नपरेको कसैको भोको शरीरले ओछ्यान छुनु नपरोस्
- ओत लाग्ने ठाउँ नभएर कुनै नागरिकले आकाशतिर हेर्नु नपरोस्
- बालबालिका सडकमा होइन, विद्यालयमा भेटिउन्, किसानले कृषि उपजको बजार र मूल्य पाउन्
- अपाङ्गता भएका नागरिकले सम्मानपूर्वक बाँच्न पाउन्
- राज्य बुढेसकालको सहारा बनोस्, कमजोर र असहायहरूको आड भरोसा बनोस्
- म आज सिङ्गो देशलाई भन्न चाहन्छु, मेरो नेतृत्वको सरकार अहिले यसैमा केन्द्रित छ





