प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्ने भएका छन्। सोमबार दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम रहेको एमालेका सचेतक महेश बर्तौलाले जानकारी दिए। संसद्को प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले ‘हिंसा’ शब्द संसद्को रेकर्डबाट हटाउन माग गर्दै विगत केही दिनदेखि संसद् बैठक अवरुद्ध गर्दै आएको छ।
आजको संसद् बैठकमा भने माओवादीले प्रधानमन्त्रीलाई बोल्न दिने भएको छ। ‘हामी आज प्रधानमन्त्रीलाई सम्बोधन गर्नबाट रोक्दैनौँ,’ माओवादी केन्द्रका सांसद माधव सापकोटाले भने, ‘प्रधानमन्त्रीलाई नै बोल्न नदिने भन्ने हुँदैन। पहिला हाम्रा कुरा राख्छौँ, अनि प्रधानमन्त्रीलाई बोल्न दिन्छौँ।’संघीय संसद्को दुवै सदनको चालु अधिवेशन आज रातिदेखि अन्त्य हुँदैछ।
अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय सरकारले गरिसकेको छ। सिंहदरबारमा आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले भदौ ३१ गते सोमबार राति १२ बजेदेखि संसद्को चालु अधिवेशन अन्त्य गर्ने गरी राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो।





