सहकारी ठगीमा धनराजमाथि छानविन हुनुपर्छ : सांसद गणेश पराजुली

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले नेपाली कांग्रेसका उपसभापति तथा सांसद धनराज गुरुङउपर सहकारी ठगी गरेको भन्दै उजुरी परेकाले छानविन गर्ने कि नगर्ने? भनेर प्रश्न गरेका छन्। सोमबार प्रतिनिधिसभा बैठकको विशेष समयमा सांसद पराजुलीले मितेरी बचत तथा ऋण सहकारी संस्थाको करिब १५ करोड रुपैयाँ रकम हिनामिनामा नेपाली काँग्रेसका सांसद धनराज गुरुङ र उहाँको श्रीमतीको नाम जोडिएको कुरा मिडियामार्फत सार्वजनिक भएको बताए।

उनले सहकारीका अध्यक्ष अध्यक्ष कुम्भराज गुरुङले ठगी गरेको दाबिसहित उजुरीसमेत दिएको भन्दै छानविन गर्ने कि नगर्ने? भनी काँग्रेस सांसदहरुमाथि प्रश्न गरे। उनले गुरुङमाथि छानविनको माग गर्दै संसदको वेल घेराउ गर्ने कि नगर्ने? भनेर पनि प्रश्न गरे।

त्यसैगरी एपिवान टेलिभिजनमा पनि जिबी राईको लगानी रहेको कुरा सार्वजनिक भएको भन्दै एपिवानमा लगानी गर्न सहकारीको पैसा लगिएको थियो कि थिएन? सो पनि छानविन गर्ने नगर्ने? भनेर उनले अर्को प्रश्न गरे।

उनले भने ‘मितेरी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कुम्भराज गुरुङले आफ्नो संस्थाको करिब १५ करोड रकम हिनामिना गरेकोमा माननीय धनराज गुरुङ र ज्योति गुरुङविरुद्ध ठगी गरेको दाबीसहित उजुरी दर्ता गराउनुभएको रहेछ। अब म माननीय गुरुङको बारेमा छानविन हुन्छ कि हुँदैन?’

उनले सरकार बनाउन भूमिका खेल्ने एपिवान टिभीका मालिकलाई सरकारले छानविन गर्ने हिम्मत राख्छ? भनी गृहमन्त्रीलाई प्रश्न गरे।