राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी असोजदेखि पार्टी प्रवेश कार्यक्रमलाई अभियानको रुपमा सञ्चालन गर्ने निर्णय गरेको छ । हिजो आज साँझ केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उक्त निर्णय गरेको हो ।
स्वदेशमा र प्रवासमा पार्टी र पार्टीको एजेण्डाप्रति देखिएको आकर्षणलाई पार्टी सङ्गठनको दायरामा ल्याउन राप्रपाले अभियान सञ्चालन गर्न लागेको जनाएको छ । राप्रपाले २०८१ साललाई पार्टी प्रवेश वर्षको रुपमा सञ्चालन गर्ने निर्णय गरेको हो ।
पार्टीको वडादेखि सबै तहको अधिवेशन गर्ने प्रयोजनका लागि कार्यसम्पादन समितिका सदस्य तोरणबहादुर गुरुङको अध्यक्षतामा गठित केन्द्रीय निर्वाचन समितिलाई पूर्णता दिइएको छ । यसैगरी राप्रपाले आफ्नो पार्टी कार्यालय भवन चाबहिलमा निर्माण गर्ने भएको छ । भवन निर्माणका लागि कार्यसम्पादन समितिका सदस्य, आर्थिक विभाग प्रमुख दिनेश श्रेष्ठको संयोजकत्वमा भवन निर्माण समिति गठन गरिएको प्रवक्ता मोहनकुमार श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
बैठकले सर्वोच्च अदालतले काठमाडौँ उपत्यकाका खोला किनारमा संरचना बनाउँदा थप २० मिटर छाड्नुपर्ने भनी गरेको फैसलाप्रति राप्रपाको ध्यानाकर्षण भएको तथा अदालतको फैसलाबाट लाखौँ नागरिक प्रभावित हुन पुगेका एवं क्षतिपूर्तिको सुनिश्चितता विना जनताको निजी सम्पत्तिमाथि कुनै प्रकारको खलल पुर्याइनु हुन्न भन्ने दृष्टिकोण रहेको ठहर गरेको छ ।





