पूर्वबाट काठमाडौँ आउँदै गरेको बुलेरो गाडी सुनकोशी नदीमा खसेर बेपत्ता भएको छ। सशस्त्र प्रहरीका अनुसार शनिबार साँझ पौने ६ बजेतिर सिन्धुली जिल्लाको गलान्जोर गाउँपालिका १ मध्यपहाडी लोकमार्गको कुडेलबाट डबल क्याप बुलेरो गाडी सुनकोशी नदीमा खसेको हो।
दुर्घटनाको खबर पाएलगत्तै सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन बेश खुर्कोटबाट गोताखोल टोली घटनास्थलमा पुगेको छ। गाडीमा चार जना सवार थिए। एक जनालाई घाइते अवस्थामा प्रहरीले उद्धार गरेको छ। उनले हामफालेर ज्यान बचाएको बताएका छन्। उद्धार गरिएका व्यक्ति सामान्य घाइते भएको र थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ। गाडीको नम्बरसमेत खुल्न सकेको छैन।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेका अनुसार, खोटाङबाट काठमाडौँतर्फ आउँदै गरेको डबल क्याप बुलेरो दुर्घटना हुँदा ३ जना बेपत्ता भएका छन् ।
बेपत्ता हुनेमा भक्तपुरको जगाती बस्दै आएका ३२ वर्षीय अबिन बाके, ३० वर्षीय प्रनित स्यागु र ३७ वर्षका बलाम घटुवा छन् । जीप अबिन बाकेले चलाएका थिए । सूर्यबिनायक नगरपालिका स्थित जगातेमा बस्ने २७ वर्षीय सुशान्त कक्षपति हाम्फालेर बाँच्न सफल भएका छन् । कक्षपतिको टाउको र पातामा चोट लागेको छ
