सुदूरपश्चिम प्रदेश सभाको विशेष अधिवेशन आह्वान गरिएको छ। प्रदेश प्रमुख नजिर मियाँले ८ साउनमा प्रदेश सभाको विशेष अधिवेशन आह्वान गरेका हुन्। नेपाली कांग्रेस, नेकपा एमाले र नागरिक उन्मुक्ति पार्टीका समेत गरी एक चौथाइ बढी प्रदेश सभा सदस्यको माग अनुसार प्रदेश प्रमुख मियाँले विशेषा अधिवेशन आह्वान गरेका हुन्।
संविधानको उक्त धारामा प्रदेश सभाका एक चौथाइ सांसदले अधिवेशन बोलाउन माग गरेको खण्डमा प्रदेश प्रमुखले आह्वान गर्नुपर्ने व्यवस्था रहेको छ। प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीले प्रदेश प्रमुखले संविधानको धारा १८३ को उपधारा (३) बमोजिम प्रदेश सभाको अधिवेशन आह्वान गरेको पत्र शुक्रबार प्राप्त भएको जानकारी दिए।
२९ असारमा प्रदेश सरकारले गरेको सिफारिसका आधारमा प्रदेश प्रमुख नजिर मियाँले बिहीबार मात्र प्रदेश सभाको जारी अधिवेशन अन्त्य गरेका थिए।





