तेस्रो दिन पनि भेटिएनन् बस, बेपत्ता ६२ मध्ये नौजनाको शव फेला

चितवनको भरतपुर महानगरपालिका– २९, सिमलतालस्थित नारायणगढ–मुग्लिन सडकबाट त्रिशूली नदीमा यात्रुसहित खसेका दुई बस तीन दिनसम्म पनि फेला परेका छैनन् । गोताखोरसहितको टोलीले खोजी गर्दा पनि बस भेटिएका छैनन् भने आइतबार थप ६ बेपत्ताको शव भेटिएको हो । शनिबार तीन शव भेटिएका थिए ।

दुई बसमा सुरुमा ५१ यात्रु रहेको अनुमान गरिएको थियो । तर, जिल्ला प्रशासन कार्यालय चितवनको पछिल्लो तथ्यांकअनुसार बसमा ६२ जना यात्रु रहेका थिए । तीमध्ये तीनजनाले झ्यालबाट हामफालेर, नदीमा पौडिएर ज्यान जोगाएका थिए । पछिल्लो तथ्यांकअनुसार अझै ५० जना बेपत्ता छन् ।

शव भेटिएका पाँचजनाको मात्रै पहिचान खुलेको छ । चितवन प्रशासनका अनुसार भारतीय नागरिक २८ वर्षीय ऋषिपल साह, ३० वर्षीय जयप्रकाश ठाकुर, ४० वर्षीय सजाद अन्सारी, सर्लाहीका ११ वर्षीय रमित माझी र चितवनका २२ वर्षीय विकास परियारको शव मात्र पहिचान भएको हो ।

काठमाडौंबाट रौतहटको गौरका लागि छुटेकोे गणपति डिलक्सको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बर र वीरगन्जबाट काठमाडौंका लागि छुटेको एञ्जल डिलक्सको बा.प्र ०३–००६ ख १५१६ नम्बरका बस शुक्रबार बिहान साढे ३ बजे सिमलतालमा माथिबाट खसेको लेदोसहितको पहिरोले बगाउँदा त्रिशूलीमा बेपत्ता भएका थिए । टिकट काउन्टरको चलानमा रहेअनुसार गणपति डिलक्समा २७ जनाको नाम रहेको र घटनापछि सम्पर्कमा आएका आफन्तले टिपाएको विवरणका आधारमा थप ११ यात्रु रहेको खुलेको छ । पछिल्लो तथ्यांकअनुसार यो बसमा ३८ यात्रु थिए । तीन सकुशल भएका यात्रु पनि यही बसका हुन् भने भेटिएकामध्ये तीन शव यही बसका यात्रुका हुन् । त्यस्तै, एञ्जल डिलक्सको टिकट काउन्टर चलानमा २३ र आफन्त सम्पर्कमा आएर दिएको विवरणका आधारमा थप चारजना गरी कुल २७ यात्रु रहेको खुलेको छ । चितवन सिडिओ इन्द्रदेव यादवका अनुसार भेटिएका शवमध्ये पहिचान खुलेका अन्य दुई यही बसका यात्रु हुन् । भेटिएका चार शवको पहिचान खुल्न सकेको छैन ।

खोताखोर टोलीले वाटरड्रोन (सोनार), आकाशबाट पनि ड्रोन क्यामरा, बस भेट्नका लागि ठूलो चुम्बक र फलामको हुक (एन्कर) को प्रयोग गरेर बेपत्ता बस र यात्रु खोजिरहेको छ । किनारवारिपारि मोटरबोट र दूरबिनको प्रयोगमार्फत पनि खोजी भएको छ । बेपत्ताका परिवार तथा आफन्तले भने आफ्ना मान्छो छिटो खोजिदिन प्रशासनलाई सामूहिक हारगुहार गरेका छन् ।

मृत फेला परेका व्यक्ति
– ऋषिपाल साह (भारत)
– विकास परियार (चितवन, माडी)
– रमितकुसर माझी (सर्लाही, बरहथवा)
– जयप्रकाश ठाकुर (भारत, चम्पारण)
– सजाद अन्सारी (भारत, बेतिया)
– अन्य चार शवको पहिचान खुलेको छैन । पूर्वी नवलपरासीको त्रिवेणी गाउँपालिका– ७, गण्डक नहरमा दुई र पश्चिम नवलपरासीको सुस्तामा एक तथा चितवनको भरतपुर– २६, सिसुवारमा एकको शव भेटिएको हो ।