राष्ट्रपति रामचन्द्र पौडेलले भानुभक्त आचार्यको जन्मस्थल तनहुँको चुँदीरम्घालाई साहित्यिक तीर्थस्थल र राष्ट्रिय एकताको भावनात्मक केन्द्रका रूपमा विकास गर्नुपर्ने बताएका छन् ।
आदिकवि भानुभक्त आचार्यको दुई सय ११औँ जन्मजयन्तीका अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले भानुभक्त प्रदत्त नेपाली भाषाका कारण नै विश्वभरका सम्पूर्ण नेपालीभाषीबीच भाषिक एकता कायम हुन सकेको तथ्यलाई मनन गर्नुपर्ने बताए ।
पौडेलले भानुभक्तले अत्यन्त सरल, शिष्ट र रोचक ढङ्गले नेपाली भाषामा अनुवाद गरेको वाल्मीकि रामायण सबै नेपालीको जनजिब्रोमा बसेको हुँदा हिमाल, पहाड र तराईका सबै नेपालीबीच भावनात्मक एकता अभिवृद्धि गर्न यसले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताए । भानुभक्तीय रामायण नेपालका विभिन्न जातजातिलाई एकताको सूत्रमा बाँध्ने महत्त्वपूर्ण रचना रहेको उनको भनाइ छ ।
नेपाली भाषाको समुन्नयनबाट अन्य मातृभाषाको संवर्द्धनमा टेवा पुग्ने हुँदा सबै भाषाभाषी समुदायबीच सिर्जनाको महत्त्व बुझेर आ–आफ्नो भाषाको संरक्षण र संवर्द्धनका निम्ति समर्पित हुन राष्ट्रपति पौडेलले आह्वान गरेका छन् । भानुभक्तले नेपाली भाषालाई काव्य भाषाका रूपमा समुन्नत तुल्याउन र नेपाली भाषा, साहित्य एवं संस्कृतिको संवर्द्धनमा अतुलनीय योगदान पुर्याएको उनले उल्लेख गरे ।
सबै नेपालीबीच आपसी विश्वास, प्रेम र एकताको भावनालाई प्रगाढ होस् भन्ने राष्ट्रपति पौडेलले शुभकामना व्यक्त गरे । भानुभक्तको जन्मजयन्तीका अवसरमा नेपालभित्रका सबै जातजाति, भाषाभाषी, साहित्य र संस्कृतिप्रतिको प्रेम, सम्मान एवं संरक्षण गर्न प्रेरणा मिलोस् भन्ने उनले कामना गरे।





