पशुपतिनाथ मन्दिरमा दर्शनार्थीले चढाएको भेटी चोरी प्रकरणमा जिल्ला अदालत काठमाडौंले पाँचजना प्रतिवादीलाई पुर्पक्षको लागि थुनामा पठाएको छ। अर्का एक जनालाई तीन लाख धरौटीमा छाड्ने आदेश दिएको छ।
भेटी चोरीमा संलग्न पशुपति क्षेत्र विकास कोषका नायब सुब्बा नवराज ढोडारी, मन्दिरका ब्राह्मण नवराज घिमिरेसहित सञ्जय कपाली, कुमार दमाई र अनिल परियारलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको अदालतका प्रवक्ता मेलिस बास्कोटाले थाहा सञ्चार नेटवर्कलाई जानकारी दिए।
अर्का प्रतिवादी सत्यनारायण जोशीलाई ३ लाख रुपैंया धरौटीमा छाड्ने आदेश भएको उनले बताए। जिल्ला सरकारी वकिलको कार्यालयले ६ जनाविरुद्ध २ करोड ३० लाख १० हजार रुपैयाँ बिगो माग दाबी गरेर मुद्दा दायर गरेको छ।
भेटी चोर्ने समूहलाई पाँच वर्षदेखि दश वर्षसम्म कैद र पचास हजार देखि १ लाख रूपैयाँसम्म जरिवानाको माग दाबी गरिएको छ। विगत ६ महिनादेखि संकलित भेटी चोरी गरेको प्रतिवादीहरुले स्वीकारेका छन्।