बर्दियाको गुलरिया क्षेत्रमा आइतबार बिहान भएको एक दर्दनाक सडक दुर्घटनाले फेरि एकपटक आपतकालीन सवारीसाधन (एम्बुलेन्स) सञ्चालन र सडक सुरक्षामाथि प्रश्न उठाएको छ।
आयुर्वेद अस्पतालमा योग अभ्यासका लागि जाँदै गरेका गुलरिया नगरपालिका–५ का ५५ वर्षीय योग गुरु भूमिराज लामिछाने र उनका ९ वर्षीय नाति रिहान्स खरेलको एम्बुलेन्सको ठक्करबाट ज्यान गएको छ। घटनाले एउटै परिवारको दुई पुस्ता एकै क्षणमा गुमाउनु परेको त्रासदीपूर्ण अवस्था सिर्जना गरेको छ।
दुर्घटनामा भूमिराजकी श्रीमती ५० वर्षीया सीता लामिछाने र ६५ वर्षीय सूर्य उपाध्याय घाइते भएका छन्। उनीहरूको उपचार नेपालगञ्जमा भइरहेको छ।
प्रारम्भिक विवरणअनुसार, बिहान करिब सवा ५ बजे पैदल सडक पार गर्ने क्रममा उनीहरूलाई बाँके कोहलपुरबाट राजापुरतर्फ जाँदै गरेको एम्बुलेन्सले ठक्कर दिएको हो। एम्बुलेन्स सिर्जनशील टोल विकास संस्थाद्वारा सञ्चालित रहेको र दुर्घटनाको समयमा चालक मात्र सवार रहेको प्रहरीले जनाएको छ। चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको छ।





