तनहुँको ऋषिङ गाउँपालिका–१, झापुटारमा आज (शुक्रबार) देखि ‘दोस्रो राष्ट्रिय मौलिक कौराहा सम्मेलन–२०८३’ सुरु हुँदै छ । मगर समुदायको मौलिक पहिचानको संरक्षण र प्रवर्धन गर्ने उद्देश्यका साथ आयोजना गरिएको यस सम्मेलनमा सहभागी हुन देशका विभिन्न भागबाट हजारौँ कलाकारहरू झापुटार पुगिसकेका छन् ।
सम्मेलनको व्यवस्थापन गरिरहेको नेपाल मगर सङ्घ तनहुँका अध्यक्ष हर्कबहादुर थापा मगरले भन्नुभयो, “कौराहाको उद्गम थलोमै यो ऐतिहासिक सम्मेलन आयोजना गर्न पाउँदा हामी उत्साही छौँ । झापुटारमा कलाकारहरूको आगमनले यतिबेला सांस्कृतिक रौनक छाएको छ, जसले हाम्रो तयारीलाई सार्थकता दिएको छ ।”
सम्मेलनको प्राविधिक तथा व्यवस्थापकीय पाटो हेरिरहनुभएको सङ्घकी महासचिव रञ्जिता थापा मगरका अनुसार, विभिन्न जिल्लाबाट आएका कलाकारहरूले अहिले सामूहिक नृत्यको अन्तिम अभ्यास गरिरहनुभएको छ । उहाँले भन्नुभयो, “हामीले प्राविधिक मापदण्डलाई निकै कसिलो बनाएका छौँ, ताकि हाम्रो मौलिकता विश्वसामु कुनै त्रुटिबिना प्रस्तुत हुन सकोस् ।”





