आज आमाको मुख हेर्ने पर्व आज देशभर मनाइँदै

प्रत्येक वर्ष वैशाख कृष्ण औँसीका दिन मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर श्रद्धा, भक्ति र सम्मानका साथ मनाइँदैछ । यस दिन जन्मदात्री आमालाई मीठा खानेकुरा खुवाउने, राम्रा लुगा लगाइदिने र आशीर्वाद लिने परम्परा रहिआएको छ ।

शास्त्रीय मान्यताअनुसार आमा उपाध्याय, आचार्य र पिताभन्दा पनि ठुली मानिन्छिन् । त्यसैले आमाप्रति सम्मान प्रकट गर्ने र उहाँबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्व विशेष महत्व राख्दछ ।

आज बिहानै नुहाएर छोराछोरीले आफ्नी आमालाई मीठा–तागतिला परिकार खुवाउने र सेवा गर्ने चलन छ। आमा नभएकाहरूले भने तर्पण, पिण्डदान र सिदादान गरी दिवङ्गत आमालाई सम्झने गर्छन्।

धर्मशास्त्रविद्हरूका अनुसार वैदिक परम्परामा देवऋण, मनुष्यऋण र पितृऋण तिर्नुपर्ने मान्यता छ । ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ भन्ने उक्ति मार्फत आमा र जन्मभूमिको उच्च महत्व दर्साइएको छ ।

आमाले सन्तानलाई नौ महिनासम्म गर्भमा राखी जीवन दिने भएकाले उहाँको महत्व अत्यन्त उच्च मानिन्छ । त्यसैले जीवित आमालाई सम्मान र दिवङ्गत आमाको सम्झनामा श्राद्ध गर्ने परम्परा रहिआएको छ ।

यसै अवसरमा काठमाडौंको चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थमा विशेष मेला लाग्ने गरेको छ । मेलाका लागि सम्पूर्ण तयारी पूरा भएको नगरपालिकाले जनाएको छ ।