काठमाडौँ महानगरपालिकाले आगामी २०८३ वैशाख ५ गतेबाट असन क्षेत्रलाई शनिबार सवारी साधनमुक्त बनाउने भएको छ।
धार्मिक, सांस्कृतिक, सामाजिक तथा व्यापारिक क्रियाकलापबाट ‘जीवन्त र समृद्ध असन’ बनाउने लक्ष्यसहित ‘भेहिकल फ्री असन’ को घोषणा गरिएको महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले जानकारी दिइन्।
यस कार्यक्रम अन्तर्गत महानगरपालिकाको वडा नं. २७ वडा कमलाक्षी चोकदेखि असनसम्म, भोटाहिटी चोकदेखि असनसम्म र महाबौद्धबाट असनसम्मको क्षेत्रमा हरेक शनिबार सवारी साधन प्रवेशमा रोक लगाइनेछ।
यस क्षेत्रबाट गन्तव्य जाने सवारी साधनलाई वैकल्पिक मार्ग प्रदान गरिने महानगरले स्पष्ट पारेको छ।
यस क्षेत्रलाई सम्पदा मार्गका रुपमा विकास गरेर स्थानीय परम्परागत तथा रैथाने व्यापार व्यवसायलाई प्रवर्धन गरिने तथा मौलिक सांस्कृतिक कार्यक्रम तथा सामाजिक क्रियाकलाप सञ्चालन गरिने पनि महानगरको भनाई छ।
यसको सञ्चालन व्यवस्थापनका जिम्मेवारी महानगर प्रहरी बललाई प्रदान गरिएको छ।




