गुल्मीमा ६ दिनदेखि बाबुछोरी बेपत्ता, खोजी गर्दै प्रहरी

गुल्मीमा बाबुछोरी ६ दिनदेखि सम्पर्कविहीन भएका छन्।

जिल्लाको धुर्कोट गाउँपालिका-४ जैसिथोक निवासी अन्दाजी ३५ वर्षीय झम्मन गिरी आफ्नी तीन वर्षीया छोरीसहित गत शुक्रबारदेखि सम्पर्कविहीन भएका हुन्। 

गिरीकी श्रीमतीको एक वर्षअगाडि मृत्यु भएको थियो। त्यसपछि गिरीले वडा कार्यालयबाट गाउँमा आर्थिक सङ्कलन गर्ने उद्देश्यसहित गरिबीको पत्र बनाएका थिए।

सोही पत्रका आधारमा चन्दा उठाएर मादक पदार्थ पिई झम्मन छोरीसहित सम्पर्कविहीन भएको स्थानीय मानबहादुर कुँवरले जानकारी दिए।

धुर्कोटकै हुलाकेमा खिचेको उनीहरूको भिडिओ यतिबेला सामाजिक सञ्जालमा भाइरल भएको छ।

यसपछि बाल अधिकारकर्मी, महिला अधिकारकर्मीलगायतले बालिकाको खोजी गरिरहेका छन्।

गिरीको घरमा एक वर्षयता बाबुछोरी मात्रै बसिरहेका थिए। 

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नारायण अधिकारीले बाबुछोरीको खोजतलास भइरहेको बताए।

मातहतका सबै निकायमा जानकारी गराएको र उनीहरूको ‘लोकेसन ट्र्याक’ गर्ने काम भएको अधिकारीले जानकारी दिए। रासस