नयाँ सरकार गठन भएपछि लगातार ओरालो लागेको सेयर बजारमा सोमबार उछाल आएको छ । आइतबार एकैदिन १०५ अंकले घटेको बजार आज भने ८३ अंकले बढेको छ । यो सँगै नेप्से परिसुचक २७६०मा पुगेको छ ।
सरकार गठन हुनुअघि २९६० अंकमा पुगेको सेयर बजार नयाँ सरकार गठन भएपछि (आइतबारसम्म) बजार २८४ अंकले घटेर २६७६ मा झरेको थियो ।
सवत्र चासो हुनथालेपछि सोमबार बिहान अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र नेपाल स्टक ब्रोकर एशोसिएसनका पदाधिकारीबीच भेटवार्ता भएको थियो ।
पदाधिकारीलेहरुले बजारमा गलत हल्ला फैलाइँदा साना लगानीकर्ता आत्तिएको भनेपछि अर्थमन्त्रीले बजारमा फैलाइने हल्ला र गलत अफवाहको पछि नलाग्न सबैलाई आग्रह गरेका थिए । त्यसकै प्रभावले बजार सकारात्मक भएको हुनसक्ने लगानीकर्ता बताउँछन् ।
बजार बढेपनि यसदिन कारोबार रकम भने घटेको छ । हिजो १२ अर्ब ३८ करोडको कारोबार भएकोमा यसदिन १० अर्ब ९३ करोडको कारोबार भयो ।
कारोबारमा आएका २६४ कम्पनीको मूल्य बढ्यो भने ३ कम्पनीको घट्यो । यस्तै १ कम्पनीको स्थिर रह्यो । कारोबार रकमका आधारमा यसदिन रिलायन्स स्पिनिङ मिल्स अगाडि रह्यो । यो कम्पनी एक्लैले १ अर्ब १३ करोड रुपैयाँको कारोबार गर्यो । यस्तै हिमालयन रि इन्सुरेन्सको पनि ५४ करोडको कारोबार भयो ।
आज उपकार लघुबित्त, भुजुङ हाइड्रोपावर, सुपरखुदी हाइड्रोपावर, रिजलाइन इनर्जी, सूर्यकुन्ड हाइड्रोइलेक्ट्रिक, होटल फरेस्ट इन, कर्पोरेट डेव्लपमेन्ट, रिढी पावर, नेशनल हाइड्रोपावर, शिव श्री हाइड्रोकोको मूल्य १० प्रतिशतले बढ्यो ।
यसदिन बैंकिङ ३.१८, विकास बैंक ३.६३ , फाइनान्स ४.०३, होटल तथा पर्यटन ३.२४, हाइड्रोपावर ४.५९ , लगानी ३.३३, जीवन बीमा २.६६, उत्पादन तथा प्रशोधन १.५३, माइक्रोफाइनान्स २.४३, निर्जीवन बीमा २.९४ तथा व्यापार २.३६ र अन्य २.४० प्रतिशत बढे ।





