प्रधानमन्त्री बालेन्द्र साह (बालेन) नेतृत्वको सरकारले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको पहिलो विदेश भ्रमणको प्रस्ताव अन्तिम समयमा अस्वीकृत गरिदिएको छ । अमेरिकाको वासिङ्टन डीसीमा आयोजना हुने अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को ’स्प्रिङ बैठक’ मा अर्थमन्त्रीको नेतृत्वमा प्रतिनिधिमण्डल पठाउने प्रस्ताव मन्त्रिपरिषद् बैठकमा पेस गरिएको थियो । मुख्यसचिवले मन्त्री वाग्लेको सहमतिमै सो प्रस्ताव लगे पनि प्रधानमन्त्री बालेनले त्यसमा असहमति जनाउँदै मन्त्रीस्तरीय सहभागिताको बाटो रोकिदिएका हुन् ।
देशको वर्तमान आर्थिक र राजनीतिक अवस्थाबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउन मन्त्रीको उपस्थिति आवश्यक रहेको धारणा राखिए पनि प्रधानमन्त्रीले उक्त प्रस्तावलाई अगाडि बढ्न दिएनन् । चैत २२ गतेको मन्त्रिपरिषद् निर्णय अनुसार अब सो बैठकमा अर्थ मन्त्रालयका वरिष्ठ सहसचिव धनीराम शर्माले नेपालको प्रतिनिधित्व गर्ने भएका छन्।
अप्रिल १३ देखि १८ सम्म हुने उक्त महत्वपूर्ण बैठकमा मन्त्रीस्तरीय सहभागिता नहुँदा नेपालले उच्चस्तरीय राजनीतिक र आर्थिक कूटनीतिको अवसर गुमाउने देखिएको छ । सरकारको यो निर्णयले अन्तर्राष्ट्रिय मञ्चमा प्राविधिक प्रतिनिधित्वमा मात्र सीमित रहने संकेत गरेको छ ।





