रुद्रवेणी–वामीटक्सार–खर्बाङ् सडक पुनः अवरुद्ध

गुल्मीको रुद्रवेणी–वामीटक्सार–खर्बाङ् सडकखण्ड पुनः बन्द भएको छ। उक्त सडकखण्ड अन्तर्गत सत्यवती गाउँपालिकाले खैरेनी बजारस्थित जुम्दी खोलाको पुल निर्माणको काम भइरहेको हुँदा शुक्रबारदेखि १० दिनका लागि सडक बन्द भएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ। 

जिल्ला प्रशासन कार्यालय गुल्मीका सहायक प्रमुख जिल्ला अधिकार हरिप्रसाद गैरेद्वारा जारी सूचनाअनुसार रुद्रवेणी–वामीटक्सार–खर्बाङ् सडक खण्डअन्तर्गत खैरेनी बजारको जुम्दी पुल निर्माणको क्रममा निर्धारित समयभित्र काम सम्पन्न हुन नसकेपछि पुनः सडक बन्द गर्ने अवधि थप गरिएको हो। यसअघि पुलको फाउण्डेशन खन्ने कार्यका लागि चैत ५ गतेदेखि १९ गतेसम्म सडक बन्द गरिएको थियो। 

तर, वर्षाका कारण दुई दिन काम प्रभावित हुनुका साथै पुलको जग राख्ने स्थानमा ठुला ढुङ्गा भेटिएकाले निर्धारित समयसम्म उक्त काम सम्पन्न हुन नसकेको जनाइएको छ। चैत २० गतेदेखि ३० गतेसम्म खैरेनी बजार जुम्दी पुलदेखि भार्से चोकसम्मको सडकखण्ड चौबीसै घण्टा पूर्णरूपमा बन्द रहने बताइएको छ। जिल्ला प्रशासन कार्यालयले सडक अवरुद्ध हुने भएका कारण वैकल्पिक सडक प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरेको छ। 

सवारी साधनलाई खैरेनी बजार–जुम्दी खोला पुलदेखि सत्यवती माध्यमिक विद्यालय, अँगारेखोला, स्वास्थ्य केन्द्र हुँदै भार्से चोकसम्मको वैकल्पिक मार्ग प्रयोग गर्न प्रशासनले अनुरोध गरेको छ। सडक अवरुद्ध हुँदा यात्रुमा पर्न सक्ने असुविधाप्रति सचेत रहेको उल्लेख गर्दै निर्माण कार्यलाई समयमै सम्पन्न गर्नका लागि सहयोग गर्न प्रशासनले स्थानीय गाउँपालिकासहित सबैलाई आग्रह गरेको छ। उक्त सडकले गुल्मीबाट वाग्लुङ्लाई जोडेको छ। रुद्रवेणी–वामीटक्सार–खर्बाङ् सडक जिल्लामा सबैभन्दा धेरै सवारी साधनहरु सञ्चालन हुने सडक अन्तर्गत पर्दछ।