पोखराको फेवाताल किनारमा रहेका मापदण्ड विपरीतका अस्थायी संरचनामा भत्काउन शुरु गरिएको छ । शनिबार बिहानैदेखि फेवा तालको ६५ मिटर भित्र पर्ने अस्थायी संरचनामा डोजर लगाएर भत्काउन शुरु गरिएको हो ।
फेवा किनारमा रहेको पर्यटन व्यवसायी कर्ण शाक्यको वाटर फ्रन्ट रिसोर्टको स्विमिङ पुल, गेट र पर्खालहरू पनि भत्काइएका छन् । संरचना भत्काउन नेपाल प्रहरी, नगर प्रहरी र सशस्त्र परिचालन गरिएको छ ।
पोखरा महानगरले पनि यसअघि अतिक्रमण गरेर बनाइएका संरचनामा डोजर चलाउने गरेको थियो । पछिल्लो समय सर्वोच्चको आदेशपछि प्रदेश सरकारसँगको समन्वयमा ताल किनारमा पोल गाड्ने काम सकिएको छ । अहिले ६५ मिटरको सीमाना छुट्याउने काम चलिरहेको छ ।
बालेन शाह प्रधानमन्त्री बनेपछि पोखरा महानगरका प्रमुख धनराज आचार्यसँग टेलिफोन कुराकानी गर्दै फेवा तालको अतिक्रमित संरचना बारे चासो लिएका थिए । बालेन सरकारले सार्बजनिक गरेको १०० बुँदे कार्यक्रमको बुँदा नम्बर ७६ मा फेवा किनारको अतिक्रमित संरचना हटाएर जलाधार क्षेत्रलाई व्यवस्थापन गर्ने उल्लेख रहेको छ । यसैबीच पोखरा महानगरले फेवा ताल संरक्षणको विषयमा हालसम्म भएको प्रगति विवरण प्रधानमन्त्री कार्यालयलाई बुझाएको छ ।




