सर्वोच्च अदालतले कुमार पौडेलको गैरन्यायिक हत्या काण्डको अनुसन्धान गर्न आदेशदिएपछि तत्कालीन गृहमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलमाथि अनुसन्धान हुन सक्ने देखिएको छ।
थापा गृहमन्त्री भएको बेला पौडेलको गैरन्यायिक हत्या भएका कारण उनी तानिनसक्ने देखिएको हो। सर्लाहीका पौडेलको गैरन्यायिक हत्यामा अनुसन्धान गर्न सर्वोच्च अदालतले समेत परमादेश दिइसकेको छ।
तत्कालीन गृहमन्त्री थापा,तत्कालिन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललगायतका अधिकारीहरु तानिन सक्नेछन्। उक्त प्रकरणमा तत्कालीन गृहमन्त्री थापासहित विभिन्न १० जना अधिकारीमाथि अनुसन्धान गर्न सर्वोच्चले परमादेश दिएको छ। गत २९ फागुनमा सर्वोच्च अदालतले सो परमादेश जारी गरेपछि अनुसन्धानको सुई थापातिर पनि सोझिएको हो।
सर्वोच्च अदालतको आदेश बमोजिम तत्कालीन गृहमन्त्री थापा, बागमतीका मेयर भरत थापालगायत विभिन्न व्यक्तिमाथि अनुसन्धान गर्ने बाटो खुला भइसकेको छ। उनीहरू हत्या अभियोगको अनुसन्धानमा तानिन सक्छन्।





