काठमाडौँ जिल्ला अदालतमा रवि लामिछाने पनि उपस्थित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जिल्ला अदालत, काठमाडौंमा तारिख बुझेका छन्।

आइतबार उनलाई मुद्दा चलाउँदा गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेर म्याद थपका लागि उपस्थित गराइएको छ। त्यसै दिन लामिछाने पनि सोही अदालतमा उपस्थित भएका हुन्। 

स्वर्णलक्ष्मी सहकारी ठगी, संगठित अपराध र सम्पत्ति सुद्धीकरणको मुद्दामा आइतबारका लागि तारिख दिइएको थियो। अब उनलाई अर्को तारिख वैशाख १४ गतेलाई तोकिएको जिल्ला अदालत, काठमाडौँका सूचना अधिकारी दीपक श्रेष्ठले बताए। 

स्वर्णलक्ष्मी सहकारी ठगीमा उनी ६० लाख धरौटी बुझाएर रिहा भएका हुन्। उनीविरुद्ध अरु चार वटा अदालतमा पनि मुद्दा छन्। जसमध्ये रुपन्देही अदालतले उनलाई सुप्रिम सहकारी ठगीको मुद्दामा पुर्पक्षका लागि थुनामा पठाएको थियो। तर उनी आफ्नो भागको बिगो बुझाएर रिहा भएका थिए। त्यसअघि उनले जिल्ला अदालतमै एक करोड धरौटी पनि बुझाएका थिए। 

यस्तै पोखराको सूर्यदर्शन सहकारीमा ६५ लाख, चितवनको सहारा सहकारीमा ५४ लाख र सानो पाइला सहकारीमा एक करोड धरौटी बुझाएर रिहा भएका हुन्। 

उनीविरुद्ध संगठित अपराध र सम्पत्ति सुद्धीकरणको मुद्दा पनि छ। यसअघिको अन्तरिम सरकारले उनीमाथिका यी दुई कसुर भने फिर्ता लिने निर्णय गरेको थियो। तर त्यसविरुद्ध पनि रिट परेपछि सर्वोच्च अदालतमा सुनुवाइ चलिरहेको छ। आइतबार यो रिटमा सर्वोच्चमा सुनुवाइ भइरहेको छ।