कालंगा हाइड्रोको आईपीओ भर्ने आज अन्तिम दिन

कालंगा हाइड्रो लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि निष्कासन गरेको साधारण सेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले गत चैत १० गतेदेखि बिक्री खुला गरेको यो सेयरमा आवेदन दिने म्याद आज चैत १५ गते बैंकिङ समयपछि सकिनेछ।

कम्पनीले आफ्नो कुल १ अर्ब ४० करोड रुपैयाँ जारी पुँजीको ३५ प्रतिशत अर्थात् ४९ करोड रुपैयाँ बराबरको ४९ लाख कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको थियो। सोही अनुमतिअनुसार सर्वसाधारणका लागि छुट्याइएको सेयरको १० प्रतिशतले हुन आउने ३ लाख ५० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बिक्री खुला गरिएको हो।

यो आईपीओमा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा कार्यरत नेपालीहरूले मात्र सहभागी हुन पाउनेछन्। इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। आईपीओ निष्कासनका लागि गराइएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई ‘केयरएनपी डबल बी’ (CARENP BB) रेटिङ प्रदान गरेको छ, जसले कम्पनीको वित्तीय दायित्व पूरा गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ।

कालंगा हाइड्रोको सेयर निष्कासन तथा बिक्री प्रबन्धकका रूपमा सानिमा क्यापिटल लिमिटेड रहेको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा (ASBA) सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखाहरूबाट सी–आस्बा प्रणालीमार्फत सहजै आवेदन दिन सक्नेछन्।

यसका साथै लगानीकर्ताहरूले सीडीएस एण्ड क्लियरिङ लिमिटेडको ‘मेरो सेयर’ (MeroShare) सफ्टवेयर तथा मोबाइल एप प्रयोग गरी अनलाइनमार्फत पनि आफ्नो आवेदन बुझाउन सक्नेछन्।