कपिलवस्तुको महाराजगञ्ज क्षेत्रमा निषेधाज्ञा जारी

कपिलवस्तुको महाराजगञ्ज नगरपालिका क्षेत्रमा शनिबारदेखि लगाइएको निषेधाज्ञा अहिले पनि जारी रहेको छ । शनिबार वडा नं. २ बर्गदामा भएको घटनापछि उत्पन्न विवाद र तनावलाई नियन्त्रणमा लिन प्रशासनले निषेधाज्ञा लागू गरेको हो ।

जिल्लाका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमका अनुसार महाराजगञ्ज क्षेत्रमा दुई समुदायबीच भएको झडपपछि अवस्था नियन्त्रणमा राख्न निषेधाज्ञा जारी गरिएको हो । उनले समाजमा धार्मिक र सामाजिक सद्भाव भड्काउने उद्देश्यले केही उच्छृङ्खल तथा अराजक तत्वहरूले गतिविधि गरेको भन्दै प्रशासनले नियन्त्रणका प्रयास गरिरहेको बताए ।

महाराजगञ्ज नगरपालिका वडा नं. २ र ३ को सीमाक्षेत्रमा ईद र नवरात्र पर्व मनाउने क्रममा उत्पन्न विवाद चर्किँदै जाँदा दुई समूहबीच झडप भएको थियो । उक्त झडपमा प्रदर्शनकारी र सुरक्षाकर्मी गरी करिब २० जना घाइते भएका छन् । तीमध्ये ३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने अन्यको अवस्था सामान्य रहेको जनाइएको छ ।

घटनालाई नियन्त्रणमा लिन प्रहरीले ७ राउन्ड अश्रुग्याँस प्रहार गरेको थियो । त्यसपछि थप घटना हुन नदिन निषेधाज्ञा लागू गरिएको हो । घटनामा संलग्न केही व्यक्तिलाई प्रहरीले पक्राउ गरिसकेको छ भने अन्यको खोजी कार्य जारी रहेको छ ।

आइतबार बसेको सर्वपक्षीय बैठकको निर्णय अनुसार अर्को निर्णय नभएसम्म निषेधाज्ञा जारी रहने प्रमुख जिल्ला अधिकारी गौतमले जानकारी दिएका छन् । उनले घाइते सबैको उपचार भइरहेको र बाहिर फैलिएको जस्तो कसैको निधन नभएको स्पष्ट पारे ।

जिल्ला प्रशासनले शान्ति सुरक्षा र सामाजिक सद्भाव कायम राख्न सबै पक्षलाई जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गर्दै अनावश्यक भिडभाड नगर्न अनुरोध गरेको छ ।

प्रशासनले महाराजगञ्ज क्षेत्रको पूर्वमा बर्गदी पुल, पश्चिममा बहादुरगञ्ज चोक, उत्तरमा महाराजगञ्ज बजार र दक्षिणमा हर्दौना क्षेत्रभित्र कुनै पनि प्रकारका भेला, सभा, जुलुस तथा प्रदर्शन गर्न निषेध गरेको छ ।