अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डमा सवारीसाधान आवागमनमा रोक लगाएर स्तरोन्नति थालिएको छ । यसका लागि डिभिजन सडक कार्यालय भक्तपुरले सडकखण्डको स्तरोन्नतिकार्यलाई तीव्रता दिइएको अवस्थामा कलोपत्र (पक्की) बनाउन शनिबार रातिदेखि दुई हप्ता सडक बन्द गरेको हो ।
लामो समयसम्म निर्माण व्यवसायीको लापरवाहीका कारण रोकिएको विस्तारका लागि नयाँ निर्माण कम्पनीसँग गत कात्तिकमा सम्झौता गरिएपछि पुनः स्तरोन्नतिलाई तीव्रता दिइएपछि पक्की बनाउन चैत ७ देखि २० गतेसम्म रातिको समयमा साँझ ६ देखि बिहान ५ बजेसम्म यातायातका साधान बन्द गरिएको हो ।
साथै, अवधिभर टिपरलगायत मालबाहक सवारीसाधनलाई भने पूर्णतः रोक लगाइएको कार्यालय प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुनम योगेशले बताए । उनका अनुसार चार किलोमिटर दूरीको सडकखण्डमध्ये चैतमा २.५ किलोमिटर र आउँदो वैशाखमा बाँकी पक्की गरिसक्ने लक्ष्य लिइएको छ ।




