कपिलवस्तुको महाराजगन्जमा निषेधाज्ञा कायमै

कपिलवस्तुमा शनिबारदेखि लगाइएको निषेधाज्ञाको बारेमा थप निर्णय लिन आज बिहान सर्वदलीय बैठक बस्दैछ ।

जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले शनिबार दिउँसो २ बजेदेखि लागू गरिएको निषेधाज्ञा अहिले पनि कायमै रहेको जनाएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी भविश्वर घिमिरेले आइतबार बिहान सर्वदलीय बैठक बसेर अवस्थाको समीक्षासहित आवश्यक थप निर्णय हुने बताए । उनले घटनामा संलग्न केही व्यक्तिलाई पक्राउ गरिएको जानकारी दिँदै आज बिहानैदेखि सुरक्षा व्यवस्था कडा पारिएको बताए ।

महाराजगन्ज नगरपालिकाको– २ र ३ को सीमाक्षेत्रमा ईद र नवरात्र पर्व मनाउने क्रममा उत्पन्न भएको विवाद चर्किँदै गएपछि प्रशासनले शनिबारदिउँसोदेखि अनिश्चितकालिन निषेधाज्ञा जारी गरेको हो ।

घटना नियन्त्रणमा लिन प्रहरीले ७ राउण्ड अश्रुग्यास समेत प्रहार गरेको थियो । महाराजगन्ज नगरपालिकामा निषेधाज्ञाकाबीच भएको घटनामा ५ जना प्रदर्शनकारी र २ जना प्रहरी घाइते भएका छन् ।