दाउन्ने सडकखण्ड एकतर्फी खुल्यो, लामो जामले यात्रुलाई सास्ती

शुक्रबारदेखि अवरुद्ध रहेको पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको दाउन्ने सडकखण्डमा अहिले पालैपालो एकतर्फी सवारी सञ्चालन हुन थालेको छ । लगातारको वर्षाका कारण सडक चिप्लो भएपछि गाडी उक्लिन नसक्दा यात्रुले लामो समयसम्म सास्ती भोग्नुपरेको थियो ।

वर्षा रोकिए पनि सडक चिप्लो भएकाले पश्चिमबाट पूर्वतर्फ आउने सवारी साधन बर्दघाटको उकालो र पूर्वबाट पश्चिम जाने सवारी साधन दुम्किवासको उकालो उक्लिन सकेका थिएनन् । पैसट्ठी मोड र घ्यू खोलाको क्षेत्र सबैभन्दा जोखिमपूर्ण बनेको इलाका प्रहरी कार्यालय दुम्किवासले जनाएको छ ।

आइतबार बिहानदेखि पालैपालो एकतर्फी रूपमा सवारी साधन पास गराउने काम भइरहेको इलाका प्रहरी कार्यालय दुम्किवासका प्रहरी निरीक्षक थम्मन सिंह थापाले जानकारी दिए । शुक्रबार साँझदेखि पश्चिमतर्फ जाने ठूला मालवाहक सवारी साधन कावासोतीको जंगल क्षेत्रमा र पूर्वतर्फ जाने सवारी साधन बर्दघाटमा रोकिएका थिए ।

आज बिहान ती सवारी साधन छुट्न थालेपछि सडकमा लामो जाम लागेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार करिब पाँचदेखि ७ किलोमिटरसम्म सवारी जाम रहेको छ ।

नारायणघाट–बुटवल सडकखण्डको अधिकांश भाग कालोपत्रे भए पनि दाउन्नेको करिब तीन–चार किलोमिटर सडक अझै ढलान हुन नसक्दा यात्रुले सधैं सास्ती भोग्दै आएका छन् । वर्षा हुँदा सडक चिप्लिएर सवारी उकालो चढ्न नसक्ने समस्या हुन्छ भने घाम लाग्दा धुलोले थप समस्या निम्त्याउने गरेको छ ।