हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीका साथै स्थानीय वायुको प्रभाव देखिएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेस र बागमती प्रदेश लगायतका पहाडी र हिमाली भूभागमा साधारणतया बदली भएको छ भने बाँकी तराई भूभागमा आंशिक बादल लागेको छ।
अहिले कोशी र मधेस प्रदेशका केही स्थान तथा बागमती र गण्डकी प्रदेशका केही स्थानमा मध्यम वर्षा र हिमपात भइरहेको महाशाखाले जनाएको छ।
आज दिउँसो देशका पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्ने र तराई भूभागमा आंशिक बदली हुने छ। पहाडी तथा हिमाली भूभागका केही स्थानहरूका साथै कोशी र लुम्बिनी प्रदेशका तराईका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले बताएको छ।
आज राति देशका हिमाली भूभागमा साधारणतया बदली रहने छ भने पहाडी भूभागमा आंशिक बादल लाग्ने छ। तराई भूभागमा भने मौसम सामान्यतया सफा रहने देखिन्छ। कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ।





