कोशी प्रदेशका विभिन्न जिल्लामा शनिबार शक्तिशाली हावाहुरी आउने पूर्वानुमान गरिएपछि प्रशासन, सुरक्षा निकाय तथा स्थानीय तहहरू आपतकालीन तयारीमा जुटेका छन्। जल तथा मौसम विज्ञान विभागका अनुसार प्रि–मनसुन सक्रिय भएसँगै विशेषगरी मोरङ, सुनसरी र धनकुटा आसपासका क्षेत्रमा तीव्र हावाहुरी, वर्षा, असिना तथा चट्याङ पर्ने उच्च जोखिम देखिएको छ।
पूर्वानुमानअनुसार हावाको गति प्रतिघण्टा झण्डै ११९ किलोमिटरसम्म पुग्न सक्ने भएकाले जनजीवनमा व्यापक असर पर्न सक्ने आँकलन गरिएको छ। सम्भावित जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय मोरङले औपचारिक सूचना जारी गर्दै सर्वसाधारणलाई अत्यन्त सतर्क रहन आग्रह गरेको छ।
सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाद्वारा जारी सूचनामा तीव्र हावाहुरीका कारण रुख ढल्ने, कमजोर संरचना भत्किने, घरका छाना उड्ने तथा विद्युत् र सञ्चार सेवा अवरुद्ध हुन सक्ने उल्लेख गरिएको छ। पछिल्ला दिनहरूमा देशका विभिन्न स्थानमा यस्तै हावाहुरीका कारण मानवीय तथा भौतिक क्षति भइसकेको सन्दर्भ उल्लेख गर्दै अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन प्रशासनले अनुरोध गरेको छ।
उता सुनसरीको धरान उपमहानगरपालिकाले पनि समान चेतावनी जारी गर्दै नगरवासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। निमित्त प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाद्वारा हस्ताक्षरित सूचनामा हावाहुरीसँगै वर्षा र चट्याङको जोखिम उच्च रहेको उल्लेख गरिएको छ।
प्रशासनले हावाहुरीका बेला झ्यालढोका मजबुत रूपमा बन्द गर्न, सवारीसाधन सुरक्षित स्थानमा राख्न, अग्ला रुख, कमजोर संरचना तथा बिजुलीका खम्बाबाट टाढा रहन आग्रह गरेको छ। त्यसैगरी लत्रिएका विद्युत् तार नछुन, विद्युतीय उपकरण प्रयोग नगर्न र कुनै आपतकालीन अवस्था आएमा सम्बन्धित निकायसँग तुरुन्त सम्पर्क गर्न अनुरोध गरिएको छ।
धनकुटामा समेत स्थानीय प्रशासनले माइकिङमार्फत जनचेतना फैलाउँदै सतर्कता अपनाउन आग्रह गरेको छ। चट्याङ पर्ने सम्भावना उच्च रहेकाले खुला स्थान, खेतबारी, डाँडा तथा अग्ला स्थानमा नबस्न र सुरक्षित स्थानमा बस्न प्रहरीले सुझाव दिएको छ।
मौसम पूर्वानुमान महाशाखाले कोशी प्रदेशका अधिकांश क्षेत्रमा शनिबार तीव्र हावाहुरीसँगै मेघगर्जन, वर्षा र उच्च पहाडी क्षेत्रमा हिमपातसमेत हुन सक्ने जनाएको छ। बदलिँदो मौसम प्रणालीका कारण केही दिनसम्म मौसम अस्थिर रहने संकेत गरिएको छ।
प्रदेश प्रहरी कार्यालय विराटनगरले सम्भावित विपद्को सामना गर्न उद्धार तथा राहतका लागि आवश्यक जनशक्ति तथा साधन तयारी अवस्थामा राखिएको जनाएको छ। १४ वटै जिल्लामा सुरक्षा निकायलाई उच्च सतर्कतामा राखिएको र कुनै पनि आपतकालीन अवस्थामा तत्काल परिचालन हुने व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ।
यसअघि पश्चिम नेपालका कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न क्षेत्रमा तीव्र हावाहुरीसँगै वर्षा र हिमपात भइसकेको छ भने तराईका केही जिल्लामा पनि हावाहुरीले प्रभाव पारेको छ।
पछिल्ला दिनमा हावाहुरीका कारण मानवीय तथा भौतिक क्षति बढ्दै गएकाले यसपटकको चेतावनीलाई गम्भीर रूपमा लिन र आवश्यक पूर्वतयारी गर्न सरोकारवाला निकायहरूले आग्रह गरेका छन्।




