राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी तीन दिनसम्म देशका विभिन्न प्रदेशमा प्रतिकूल मौसमको सम्भावना रहेको भन्दै नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानका आधारमा प्राधिकरणले शुक्रबार कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ।
त्यस्तै, लुम्बिनी प्रदेशका दाङ र नेपालगञ्जसहित तराई आसपासका जिल्लामा शुक्रबारदेखि तथा कोशी प्रदेशका विराटनगर, धनकुटा र धरान आसपासका क्षेत्रमा शनिबार तीव्र हावाहुरी चल्ने सम्भावना रहेको उल्लेख गरिएको छ।
प्राधिकरणका अनुसार प्रि–मनसुनको समय भएकाले तीव्र हावाहुरीका कारण रुख ढल्ने, कमजोर संरचना तथा छाना उड्ने, साथै विद्युत् र सञ्चार सेवा अवरुद्ध हुने जोखिम बढेको छ। पछिल्ला केही दिनमा हावाहुरीका घटनाका कारण मानवीय क्षति तथा घाइतेसमेत भएको जनाउँदै थप सावधानी अपनाउन आग्रह गरिएको छ।
प्राधिकरणले जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने तथा यात्रा गर्ने नागरिकलाई विशेष सावधानी अपनाउन अनुरोध गरेको छ। आवश्यक कामबाहेक यात्रा नगर्न, हावाहुरीको समयमा घरका झ्यालढोका राम्ररी बन्द गर्न, आगोका स्रोत नियन्त्रणमा राख्न र सवारी साधन चलाइरहेको अवस्थामा सुरक्षित स्थानमा रोक्न सुझाव दिइएको छ।
त्यस्तै, भीडभाडमा रहेका व्यक्तिलाई आत्तिन नहुने, भागदौड नगरी सुरक्षित स्थानमा जान, कमजोर संरचना, अग्ला रुख, बिजुलीका खम्बा तथा तारमुनि नबस्न र लत्रिएका विद्युत् तार नछुन आग्रह गरिएको छ। सो समयमा विद्युत् उपकरण प्रयोग नगर्न र जोखिमयुक्त स्थानबाट टाढा रहन पनि अनुरोध गरिएको छ।





